मधेश प्रदेशमा दादुरा रुवेला खोप लगाउने सम्पूर्ण तयारी पुरा
जनकपुरधाम । मधेश प्रदेशका ८ जिल्लामा फागुन १३ गतेबाट दादुरा रुवेला खोप लगाउने सम्पूर्ण तयारी पुरा भएको छ ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा आयोजना गरेको सञ्चार अन्तरक्रिया कार्यक्रममा फागुन १३ गतेबाट दादुरा रुवेला विरुद्धको खोप लगाउने अभियान शुरु भएर चैत्र ७ गतेसम्म चल्ने निमित्त निर्देशक श्रवण नायकले जानकारी दिनुभयो ।

मधेश प्रदेशका १ सय ३६ पालिकाको ११ हजार ३ सय ४६ खोप केन्द्रमा दादुरा रुवेलाको खोप लगाउनका लागि केन्द्रको निर्माण गर्नुका साथै कार्यक्रमलाई सफल बनाउनका लागि १५ हजार ५ सय ८४ खोप कार्यकर्ता परिचालन गरिएको निमित्त निर्देशक नायकले जानकारी दिनुभयो ।
यसैगरि १५ हजार ५ सय ८४ को सङ्ख्यामा स्वयं सेवक परिचालन गरिने भएको छ । स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको २ लाख ५१ हजार ७ सय ९८ भाइल नेपाल सरकारकार मार्फत प्राप्त भएको निर्देशनालयले जानकारी दिएको छ ।
दादुरा रुवेला कार्यक्रमलाई सफल बनाउनका लागि नेपाल सरकारबाट जिल्ला स्तरमा कार्यक्रम गर्नका लागि ६ करोड ८९ लाख १८ हजार र स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम गर्नका लागि २ लाख १३ हजार ९ सय रकम प्राप्त भएको निर्देशनालयले जानकारी दिएको छ ।
दादुरा रुवेलाको खोप केन्द्रहरू प्रायः स्वास्थ्य संस्था, वडा कार्यालयका अतिरिक्त विद्यालयमा स्थापना गरिएको छ ।
मधेश प्रदेशका जिल्लाहरू दादुरा रुवेलाको दृष्टिकोणले पनि उच्च जोखिममा पर्ने जिल्ला भएकाले खोप कार्यक्रमलाई सफल बनाउन निर्देशनालयले सबैमा आग्रह गरेको छ ।
नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुवेला रोग उन्मूलन गर्ने लक्ष्य लिएर ९ महिनादेखि १५ वर्षका बालबालिकाहरूलाई खोप दिने कार्यक्रम अभियानको रुपमा गरिरहेको छ ।
मधेश प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका तथा १ हजार २ सय ७१ वडा कार्यालयहरूमा एक साथ दादुरा रुवेला विरुद्धको खोप दिने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्