धौलागिरि पवित्र तपोभूमि : राष्ट्रपति पौडेल

गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताउनुभएको छ ।
पवित्र शालिग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताउनुभएको छ ।
बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु भएको अनन्तश्री ब्रामाण्डीय महायज्ञमा धारणा राख्दै राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको बताउनुभयो । उहाँले पाँचकोटको सङ्गमस्थलमा स्वामी कमलनयनाचार्यको सङ्कल्पमा यी बृहत् संरचना निर्माण भएको देखेर आफू खुसी लागेको पनि बताउनुभयो ।
“धौलागिरि क्षेत्र आफैँमा तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वर धामसँगै अहिले पञ्चकोटकोे नाम आइरहेको छ, म पहिला शालिग्राम सङ्ग्रहालय आएको थिएँ, नदी र जल सम्पदाको संरक्षणमा यो महायज्ञ आयोजना भएको मैले पाएँ” राष्ट्रपति पौडेलले भन्नुभयो, “कुडुँलेमा सवा लाख शालिग्राम दर्शन गरेको थिएँ, अहिले यो पवित्र भूमि पञ्चकोट आउँदा आफूलाई खुसी लागेको छ, महायज्ञले धार्मिक प्रसारमात्रै गरेको छैन, जल सम्पदा, सङ्कटमा रहेको शालिग्रामलाई जोगाउन थालेको छ ।”
संस्कृत, परम्परा, मूल्य र मान्यताले नेपालीलार्ई एकताबद्ध बनाएको उल्लेख गर्दै उहाँले नेपालका नदीहरू पवित्र रहेको बताउनुभयो ।
“यो पञ्चकोट एउटा खाली पहाड अहिले शान्तिभूमि भइसकेको रहेछ, यो शान्तिभूमि पञ्चकोटमा धार्मिक पर्यटकको भीड लागेको देखेको छु”, उहाँले भन्नुभयो, “पञ्चकोटले धार्मिक पर्यटक भित्र्याएर आयआर्जन बढाउँदै समृद्ध बागलुङ बनाउन सहयोग पु¥याउनेछ ।” महायज्ञले जल सम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने उहाँको भनाइ थियो ।
सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका परिकल्पनाकार एवं उक्त सर्वसिद्धधिाम पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले पञ्चकोटमा राष्ट्रपति पौडेललाई स्वागत गर्नुभएको थियो । उहाँले सो धाममा देवदेश नेपालका अभिभावकका रुपमा रहनुभएका राष्ट्रप्रमुखको आगमन पञ्चकोटधाम परिवार, तीर्थस्थल विकास समिति, मुक्तिनाथ बाबा श्रीजी च्यारिटेबल ट्रष्टलगायतका सबैमा सुखानुभूति भएको बताउनुभएको थियो ।
आजै राष्ट्रपतिले महायज्ञको एक प्रमुख अनुष्ठानकारुपमा रहेको सवालाख श्रीफल (नरिवल) हवनकुण्डमा पञ्चकोट र पञ्चमहालक्षीको प्रतिकका रुपमा पाँच ओटा नरिवल हवन गर्नुभएको थियो । ती प्रत्येक नरिवलमा विभिन्न ५४ प्रकारका हवनीय द्रव्यहरू राखिएको थियो ।
नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरक फरक विषयमा विज्ञका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ । महायज्ञमा सङ्कलन भएको रकमले पञ्चकोटमा निर्माणाधीन १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणलाई पूर्णता दिइनेछ । हालसम्म पञ्चकोटमा रु ५० करोडभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्