तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधानअनुसार ऐन कानून बनाइ कार्यान्वयन गर्न माग’ 

काठमाडौँ । नागरिक संघ सङ्गठनहरूको छाता संस्था गैरसरकारी संस्था महासङ्घले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूलाई सबै तहका नागरिकहरूले अनुभूत हुने गरी ऐन कानून निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ । 

महासङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी २९औँ वार्षिक साधारण सभाले जारी गरेको  घोषणा पत्र सार्वजनिक गर्दै  तीनै तहका सरकारका एकल तथा साझा अधिकार कार्यान्वयनमा स्पष्ट कानून नबन्दा अन्यौल सिर्जना भएको बताएको हो । 

महासङ्घले पिछडिएको र बहिष्करणमा पारिएको वर्ग र समुदायलाई विकासको मूल धारमा समावेश गराउन लक्षित वर्गका लागि सामाजिक परिचालनको कार्य नागरिक संघ संगठनमार्फत् साझेदारीमा गर्न माग गरेको छ । 

महासङ्घले जारी गरेको घोषणा पत्रमार्फत सहकारी तथा लघुवित्तका ब्याजका कारण नागरिकहरूको उठिबास भइरहेको भन्दै व्यापारीहरूले कर छुट लिने, छली गर्ने र सरकारी जग्गा हडप्ने प्रवृत्ति बढेकाले तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले गैरसरकारी संस्थाहरू सञ्चालनका लागि पुरानो ऐन समयानुकूल बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button