झापामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
झापा । १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय प्रतियोगिता आजदेखि झापाको अर्जुनधारा नगरपालिकामा सुरु भएको छ ।
अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा आयोजित एक समारोहबीच प्रतियोगिताको उद्घाटन कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईले गर्नुभयो ।

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि राईले खेलकुदको माध्यमबाट मात्र देशलाई विश्व सामु चिनाउन सकिने उल्लेख गर्दै खेलकुदको क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जिल्लाका १५ वटै पालिकाबाट सहभागिता जनाएका खेलाडी छात्र–छात्राले मार्च पास गरेका थिए ।
एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरू सञ्चालन गरिने प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो ।
पहिलो दिन भलिबल, कबड्डी र उसुका खेलहरू भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्