विपन्न समुदायको जीवनस्तर उकास्न बगरमा खेती
झापा । कचनकवल गाउँपालिकाका अतिविपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने उद्देश्यले नदी उकास जमिनमा खेती सुरु गरिएको छ । पालिकाको वडा नं ५ स्थित पाठामारीका एक सय १५ परिवारलाई समेटेर मेची नदीको बगरमा खरबुजा, काँक्रो खेती सुरु गरिएको हो ।
न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) र पालिकाको सहकार्यमा बगरको १७ बिघा जमिनमा विपन्न र सीमान्तकृत वर्गको जीविकोपार्जनमा मद्दत पुर्याउने उद्देश्यले काम थालिएको एसएनजेडीका संयोजक कुमार चँडालले बताउनुभयो । उहाँले सो स्थानमा सुपारी खेती गर्ने उद्देश्यअनुरूप काम भइरहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले गरिबी निवारणका क्षेत्रमा मुलुकका विभिन्न स्थानमा काम गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत नै युएनडिपीसँगको सम्झौताअनुरूप एसएनजेडीले काम गरेको संयोजक चुँडालले बताउनुभयो । सोही स्थानलाई घेराबारका लागि पालिकाकाले रु २० लाखको लागतमा ठेक्का लगाइसकेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक चुँडालले बगरको जमिनमा हाल काँक्रा र खरबुजा लगाएता पनि पालिका र संस्थाले सुपारी खेतीका लागि अध्ययन गरिरहेको जानकारी दिनुभयो । उहाँले थोरै लगानी, कम परिश्रममा बढी उब्जनी गर्न सकिने हुँदा सुपारी खेतीलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । बगरमा खेती लगाएर उत्पादन दिएको २० वर्षसम्म सम्बन्धित व्यक्तिले नै उपभोग गर्न पाउने गरी पालिकाको कार्यविधि बनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्