मधेश प्रदेशका मुख्यमन्त्रीले ९ गतेभित्र विश्वासको मत लिने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव एक साताभित्र मधेश प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा रहनुभएको छ ।
सरकारमा रहेको जनमत पार्टी माघ ९ गते सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव हुनुहुन्छ ।

मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेर फागुन ९ गतेभित्र विश्वासको मत लिने जानकारी दिनुभयो । मधेश प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दलहरूको साथ रहेकाले मुख्यमन्त्री यादवले सहज किसिमले विश्वासको मत पाउने अवस्था रहेको छ ।
१ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।
मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको २३ सिट, नेपाली काँग्रेसका २२ सिट र जनता समाजवादी पार्टी नेपालका १८ सीट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादी पार्टीको ९ सिट रहेको छ ।
मधेश प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली काँग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा नै रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्