तपाईँ सुन्दै हुनुहुन्छः

सूचनाको हकमैत्री प्रदेश बनाउन प्रतिबद्ध : मुख्यमन्त्री शाह

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोग, सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको संयुक्त आयोजनामा शुक्रबार कैलालीको धनगढीस्थित भादागाउँमा आयोजित सूचनाको हक सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार र मातहतका निकायबाट आम नागरिकले सहज रुपमा सूचना पाउने संयन्त्र बनाउन निर्देशन गरिसकेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पछिल्लो समयमा सूचनाको हक प्रयोग गरेर आफ्नो र सार्वजनिक महत्वको सूचना माग गर्ने अभ्यास बढेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी सार्वजनिक निकायका प्रतिनिधिहरू र सूचनाको हकका अभियन्ताहरूले सूचनाको हक, त्यसको प्रयोग, भोग्नु परेका समस्या र चुनौतीका विषयमा आआफ्ना अनुभवहरू प्रस्तुत गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले अधिवेशनको उद्घाटन गर्दै सूचना तथा सञ्चारमैत्री प्रदेश बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको सुदूरपश्चिम अधिवेशन समेत गरिएको केन्द्रीय अध्यक्ष उम्मिद बागचन्दले जानकारी दिनुभयो ।

थारु समुदायको बाहुल्यता रहेको भादागाउँमा थारु सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button