तपाईँ सुन्दै हुनुहुन्छः

भन्सारको लागि ६२ बिगाहा जग्गा अधिग्रहण गर्ने काम अन्तिम चरणमा

वीरगंज । वीरगंज सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी आईसीपीको बीचमा पर्ने ६२ बिगाहा जग्गा अधिग्रहण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । 

जग्गा अधिग्रहण गर्ने प्रक्रिया अन्तरगत हाल सम्म ९० प्रतिशत भन्दाबढी जग्गाको मुआब्जा वितरण गरि सकिएको र बाँकी १० प्रतिशतको अन्तिम चरणमा पुगेको छ । 

जग्गा अधिग्रहणको क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचमा रहेको सिर्सिया खल्वाटोला गाउँको खेतको मुआब्जा वितरण करिब करिब टुङ्गिन लागेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो । 

उहाँले हाल सम्म स्थानीय जग्गा धनीले ४ अर्ब ८० करोड रुपैयाँ भन्दाबढी मुआब्जा बापतको रकम बुझिसकेको जानकारी दिनुभयो । मुद्दा मामिला तथा प्राविधिक जटिलता रहेका केही जग्गाधनीबाहेक अधिकांशले आफ्नो खेतको मुआब्जा बुझाई सकिएको छ । 

अब बाँकी रहेको घर घडेरी, पोखरी, बालीनाली र रुखको मूल्याङ्कन गर्ने काम अन्तिम चरणमा पुगेको र यसका लागि प्राविधिक उपसमितिले काम गरि रहेको हुँदा एक महिना भित्र सबै काम पुरा गर्ने लक्ष्य रहेको मैनालीले बताउनु भयो । 

सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीको बीचमा पर्ने कूल ६२ बिघा जग्गाको ९ सय २० कित्ता जग्गा अधिग्रहण प्रक्रिया संघीय सरकारले ७ वर्षअघि सुरु गरेको थियो । नेपाल सरकारको २०७३ पुस १७ को निर्णयले स्थानीयको जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको मैनालीले जानकारी दिनुभयो । 

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका बीरगंजको आईसिपी भन्सार र ड्राईपोर्ट भन्सारलाई जोडेर निर्बाध रूपमा दुवै भन्सार सञ्चालन गर्न सरकारले दुई भन्सार बिचको जग्गा अधिग्रहण गरेको हो । 

वैदेशिक व्यापारलाई प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले वीरगञ्जको अलौमा आईसीपी भन्सार निर्माणकै चरणमा हुँदा जग्गा अधिग्रहणको योजना बनेको भए पनि अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरणमा जग्गा धनीहरूले पटक पटक बढी मुआब्जा माग्दा समस्या भएको थियो ।

नेपालमै पहिलो पल्ट झण्डै १८ वर्ष अगाडि सिर्सिया सुख्खा बन्दरगाह भन्सार सञ्चालन आएको थियो । भारतीय ब्रोडगेज रेलमार्गसँग जोडिने एक मात्र भन्सारको रुपमा रहेको सिर्सिया सुख्खा बन्दरगाह भन्सारमा अहिले माल सामानको आयात निर्यातको चाप अत्यधिक रहेको र दुवै भन्सार विस्तारको विकल्प नरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष  अशोक वैद्यले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button