तपाईँ सुन्दै हुनुहुन्छः

नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन बर्थिङ सेन्टर र पिआईसियु सेवा

रुपन्देही । लुम्बिनी प्रदेशमा बढ्दै गएको नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआईसियु) सेवा सुरु गरेको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले यसको उद्घाटन गर्नुभयो ।

परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सी को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुदर्शन थापाले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पतालहरू व्यवस्थापन गर्दै आएको बताउँदै अहिले मन्त्रालयबाट सबैभन्दा धेरै लगानी यसै अस्पतालमा गर्दै आएको जानकारी दिनुभयो । उहाँले अस्पतालहरूमा देखिएका भौतिक एवम् जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताउँदै जनताले अहिले विश्वास गर्ने अस्पतालको रुपमा विकास हुँदै जानु राम्रो पक्ष भएको जनाउनुभयो । प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण कार्य सुरु हुने उहाँको भनाइ थियो ।

स्वास्थ्यमन्त्री खनालले मातृ र बाल मृत्यु दर उच्च रहेको तथ्याङ्क रहेको बेला लुम्बिनी प्रादेशिक अस्पतालमा थपिएको बर्थिङ सेन्टर र पिआईसियुले मृत्युदर घटाउन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य निर्देशनालयका लुम्बिनीका निर्देशक डा। विनोद गिरीले सामान्य केसहरूलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।  अस्पतालमा सुरु भएको बर्थिङ सेन्टरको बेड बढाउन आवश्यक रहेको भन्दै आमा र बच्चा रिफर गर्न नपर्ने अवस्था सिर्जना गर्न उहाँको आग्रह थियो ।

बालरोग विभाग प्रमुख डा किरणमणि पौडेलले बालबालिकाको स्याहारसुसारमा समस्या रहेको अवस्थामा अहिले निकै राम्रा पहलहरू भइरहेको बताउँदै प्रदेश सरकारको सहयोगमा ६ बेडबाट सुरु गरेको र गुणस्तरीय सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रसूति विभाग प्रमुख डा भक्त बस्याल (बिबि)राउतले सरकारले गर्भवती सेवा सरकारी अस्पतालमा निःशुल्क गरेपछि जनताको भिड बढेको अवस्थामा यसको आवश्यकतामा ध्यान नदिएको भए पनि पछिल्लो समय यसको आवश्यकतालाई महसुस गरेर बर्थिङ सेन्टर स्थापना गरिएको जनाउनुभयो । उहाँले यो सुविधा थप्दा जनशक्ति थपिने भएकोले यसले सुरक्षित डेलिभरीलाई थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउनका लागि यो प्रभावकारी हुने उनले बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तार सँगै गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button