तपाईँ सुन्दै हुनुहुन्छः

पढाइसँगै संस्कृति जगेर्नामा सल्यानका विद्यार्थी 

सल्यान । सल्यान बागचौर नगरपालिका–९ कुइयापानीस्थित सूर्य प्रकाश आधारभूत विद्यालयका विद्यार्थी पढाइसँगै परम्परा र संस्कृति संरक्षणमा जुटेका छन् । 

कक्षा ६ देखि ८ सम्मका विद्यार्थी समाजमा हराउँदै गएको मयुर (स्यरिंगे) नाँच संरक्षणमा जुटेका हुन ।

मयूर नाच लोप हुन लागेको संस्कृति हो । यसको महत्व बुझेर साना बालबालिकाहरूबाट नै संस्कृति संरक्षणमा अग्रसर गराउनपर्छ भनेर जगेर्नामा जुटेको विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर वलीले बताउनुभयो । 

उहाँले भन्नुभयो “आधुनिकताले हाम्रा लोक संस्कार र संस्कृति मासिँदै गएको छ । कुनै फाइदा नहुँदा त बाबु बाजेले संस्कृति बचाएर हामीलाई नासोको रुपमा दिनुभयो । आधुनिकताले च्यापेको बेला संस्कृति संरक्षणमा हामी जुटेका छौँ ।”

पढाइसँगै मयूर नाचलाई पनि निरन्तरता दिइरहेको विद्यार्थी संगीता वलीले बताउनुभयो छ । पढाइसँगै संस्कृति जोगाउन अग्रसर भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “मयुर नाच देखाउँदा सबैले सम्मान गर्नुहुन्छ । परम्परागत पोसाकसँगै आफ्नो प्रतिभा देखाउन पाउँदा निकै खुशी लाग्छ ।” 

चोली, गुन्यु, पटुकी, गर्वा लगाएर नाच्दा संस्कृतिको संरक्षणसँगै आफ्नो कलाले देखाउन पाइने प्रेमा डाँगीको भनाई छ । 

संस्कृति जोगाउनुपर्छ भनेर कक्षा ६ देखि ८ सम्मका सबै विद्यार्थीलाई मयुर नाच सिकाएको शिक्षक तथा मयुर नाचका अगुवा चेत बहादुर बुढाथोकीले बताउनुभयो । 

युवा पीढीहरूलाई नाच सिकाउन नसकिए पुराना परम्परागत संस्कृति हराएर जाने भएपछि विद्यालय स्तरबाटै संस्कृति संरक्षण गर्न सिकाउनुपर्छ भनेर एक वर्ष अघिदेखि सबै विद्यार्थीलाई सिकाउन थालिएको उहाँले बताउनुभयो । 

“पुरानो संस्कृति युवा पीढीमा पुस्तान्तरण पनि हुने विद्यालयलाई आम्दानीको स्रोत पनि हुने गरेको छ ।”, उहाँले भन्नुभयो ।  गाउँघरमा मयुर नाच देखाउन ४ हजार देखि ५ हजारसम्म र अलि टाढा जानु पर्‍यो भने ७ देखि ८ हजारसम्म लिने गरेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले यति नै हो भनेर तोकेर पैसा लिँदैनौँ सामान्यतया ४ हजारदेखि ८ हजारसम्म दिने गर्नुभएको छ ।”

मयुरको प्वाँच पछाडि राखेर नाचिने नाच समाजमा निकै आकर्षक नाचका रुपमा परिचित छ । मयुरका प्याख पछाडि राखेर नाचिने भएकाले यसलाई कतिपयले गर्वा नाचबाट पनि चिन्ने गर्दछन् । गीतबाट नभई मादल र अगुवाको तालमा नाचिने यो बिस्तारै हराउँदै जान थालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button