तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा सम्पन्न सभामुख कप २०८० को उपाधि धनुषालाई

जनकपुरधाम । मधेश प्रदेश सभाको छैटौँ स्थापना दिवसको असरमा जनकपुरधाममा आज सम्पन्न भएको सभामुख कप २०८० को उपाधि धनुषाले जितेको छ ।

धनुषा तथा सिरहाका बीचमा भएको फाइनल खेलमा पहिलो व्याटिङ्ग गर्दै सिरहा जिल्ला ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ३४ रन बनाएका थिए । प्रतिउत्तरमा व्याटिङ्गका लागि आएका धनुषाले ३४.२ ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ३५ रन बनाएर उपाधि जित्नमा सफल भएको छ ।

आज भएको फाइनल खेलमा धनुषा क्रिकेट टिमका खेलाडी रुपेश यादवले ४५ रन तथा ३ विकेट लिए बापत म्यान अफ दि म्याच भएका थिए । सभामुख कपको उपाधि जित्ने धनुषा जिल्लाले जितसँगै ट्रफी, पदक, प्रमाणपत्र तथा १ लाख ५१ हजार नगद प्राप्त गरेको छ ।

खेलमा उपविजेता बनेको सिरहा क्रिकेट टिमले ट्रफी, पदक, प्रमाणपत्रसहित १ लाख १ हजार नगद जित्नमा सफल भएको छ । सभामुख कपमा मधेश प्रदेशका ८ जिल्लाका क्रिकेट टिमको सहभागिता रहेको थियो ।

मधेश प्रदेशका प्रदेश सभा सचिवालयको आयोजना तथा जिल्ला क्रिकेट सङ्घको संयोजनमा भएको सभामुख कप २०८० मा विजेता बनेका धनुषा क्रिकेट टिमलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र तथा सभामुख रामचन्द्र मण्डलले शिल्ड, कप तथा नगद प्रदान गर्नुभएको थियो ।

यसै गरि प्रतियोगितामा उपविजेता बनेका सिरहा जिल्लाका क्रिकेट टिमलाई उपसभामुख वविता राउत ईसर, प्रदेश सभाको छैटौँ स्थापना दिवस मूल समारोह समितिका संयोजक कञ्चन विच्छासहितका प्रदेश सभाका सदस्यहरुले प्रदान गर्नुभएको थियो ।

यसैगरि प्रतियोगिता अवधिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने धनुषाका रुपेश यादवले म्यान अफ दि सिरिजको उपाधि जित्नमा सफल भएका छन् भने वेष्ट व्याट्स म्यानको उपाधि धनुषाकै अली अकवर अन्सारी र वेष्ट बलरमा धनुषाकै विक्रम कुमार यादव घोषित हुँदै नगद, कप प्राप्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अनुशासित नागरिक तयार पार्नमा खेलकुद महत्वपूर्ण माध्यम भएकाले मधेश प्रदेश सभाले सभामुख कपको आयोजना गरेर निक्कै सराहनीय काम गरेको बताउनुभयो ।

सभापतिको आसनबाट मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले क्रिकेट खेलको माध्यमले देश विदेशमा चिनिने भएकाले नेपालमा क्रिकेटको लोकप्रियता निकै बढेकाले प्रदेश सभाले सभामुख कपको शुरुआत गरेको बताउनुभयो ।

उहाँले खेलाडीहरूलाई क्रिकेट खेलसँगै मधेश तथा नेपालको मौलिक खेलकुदलाई अगाडी बढाउनका लागि आग्रह गर्दै खेलकुदले सङ्घीयतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सभाका सदस्य अनिता साह र जिल्ला क्रिकेट संघका पदाधिकारी सरोज मिश्रले बोल्नुभएको थियो ।

सोही कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले क्यान्सर रोगले पीडित भएर उपचारमा रहनुभएका फुटबलका पूर्व राष्ट्रिय खेलाडी प्रकाश अर्याललाई उपचारमा सहयोग गर्नका लागि सभामुख रामचन्द्र मण्डलले धनुषा तथा महोत्तरी जिल्लाका खेलाडीहरूको आग्रहमा ५० हजार सहयोग राशि हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button