तपाईँ सुन्दै हुनुहुन्छः

थापाद्वारा अनुवादित श्रीमद् देवी भागवत महापुराण सार्वजनिक

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी ध्रुव थापाद्वारा नेपाली भाषामा अनुवादित श्रीमद् देवी भागवत महापुराण सार्वजनिक गरिएको छ ।

चेतकुमारी–रामनारायण थापा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको संस्कृत भाषाबाट सरल नेपाली भाषामा अनुवाद गरिएको श्रीमद् देवी भागवत महापुराण शनिवार काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

पुस्तक विमोचन समारोहमा प्राध्यापक रामहरि दाहालले अनुवादित पुस्तकले भाषिक जटिलताका कारण संस्कृत भाषामा रहेको मूल पुस्तक अध्ययन गर्न नसकेका नेपाली पाठकहरूलाई सहयोग पुग्ने बताउनुभयो ।

प्राध्यापक दाहालले पूर्वीय दर्शन र संस्कृत साहित्यका महत्वपूर्ण ग्रन्थहरूलाई अनुवाद गर्न सके यसमा रहेको असीमित ज्ञानको भण्डारलाई सबै नेपाली भाषीको पहुँचमा पुर्‍याउन सकिने पनि बताउनुभयो ।

कार्यक्रममा साहित्यकार एवं भाषाविद् चूडामणि गौतमले नेपाली साहित्यमा हिन्दु धर्मग्रन्थ र संस्कृत साहित्यको गहिरो प्रभाव रहेको बताउनुभयो ।

साहित्यकार गौतमले नेपाली भाषा–साहित्यको विकास र विस्तारका लागि संस्कृत साहित्यका साथसाथै विश्वका अन्य भाषामा रहेका महत्वपूर्ण पुस्तकहरूको अनुवाद हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुस्तकका अनुवादक एवं वरिष्ठ सञ्चारकर्मी ध्रुव थापाले सबैलाई बुझ्न र पढ्न सजिलो होस् भनेर आफ्नो वर्षौंदेखिको सपना पुस्तकको अनुवादबाट पुरा गर्न सकेकोमा खुशी लागेको बताउनुभयो ।

वरिष्ठ सञ्चारकर्मी ध्रुव थापा रेडियो नेपालमा समाचार महाशाखाको उपनिर्देशकबाट सेवा निवृत्त पूर्व कुशल समाचार वाचक हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button