लैङ्गिक तथा सङ्घीयतामैत्री नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन आवश्यक
काठमाडौँ । दिगो विकासका लक्ष्य हासिल गर्न लैङ्गिक तथा सङ्घीयतामैत्री नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन आवश्यक रहेको सरोकारवालाहरुले सुझाव दिनुभएको छ ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोह्राँै योजनामा लैङ्गिक तथा दिगो विकासमैत्री दृष्टिकोण निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूमा छलफल गर्न आज बसेको बैठकमा सहभागी विभिन्न सङ्घसंस्था तथा सरोकारवालाहरुले लैङ्गिकमय नीति निर्माण र योजनाको प्रभावकारी कार्यान्वयनमा रहेको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सहभागी विभिन्न क्षेत्रका विज्ञका तथा विश्वविद्यालय प्रतिनिधि, सरोकारवाला सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूले विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरूको अनुरूप नीति बनाइएता पनि यसको फितलो कार्यान्वयनले दिगो विकासका लक्ष्यहरूमा हासिल गर्नमा कठिन हुने औँल्याउनुभएको थियो ।
बैठकमा दिगो विकासका लक्ष्य हासिल गर्न गर्नुपर्ने कामहरूको सुझाव राख्नुहुँदै गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. गिरिधारी पौडेलले योजनमा लैङ्गिक, अल्पसङ्ख्यक, सीमान्तकृतलगायत सबै क्षेत्रको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गरिनुपर्ने बताउनुभयो ।
डा.पौडेलले स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, खानेपानी, सरसफाई, विद्युत् जस्ता क्षेत्रको सही विकास र विस्तार मार्फत नै दिगो विकासका लक्ष्य हासिल गर्न सकिने सुझाव राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्