तपाईँ सुन्दै हुनुहुन्छः

बगर भाइखलक एट ए साइड भेट्रान फुटबलमा तीन उमेर समूहमा हुने, प्रतियोगितामा ३६ टिमको सहभागिता

पोखरा । बगर भाइ खलकको आयोजनामा हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेहौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा तीन उमेर समूहमा हुने प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको छ । यही माघ २१ गते (आइतबार) देखि पोखरा १ टुँडिखेल मैदानमा हुने एट ए साइड फुटबल प्रतियोगिताको तीन विधामा गरी ३६ टिमको सहभागिता हुने भएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर समूहमा प्रतियोगिता हुने भएको संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले बताउनु भयो । प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टिमको सहभागिता रहेको छ ।

५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथिमा ९ टिमको सहभागिता रहेको छ । ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता रहेको छ भने, तीनै विधाका म्यान अफदी म्याचले भने ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको मुख्य उद्देश्य भनेको ग्रास रुट फुटबल खेलाडी उत्पादन गर्नु भएको अध्यक्ष गुरुङले बताउनु भयो । ग्रास रुटको विकासमा चालिस बर्ष माथि भेट्रान फुटबल किन भनियो भने बुढाहरू त खेल्दा रहेछन् हामी पनि खेल्नुपर्छ भन्ने भावना जगाउन भेट्रान एट ए साइड फुटबलको आयोजना गर्दै आएको महासचिव याम बहादुर गुरुङले बताउनु भयो । 

प्रतियोगिताको उद्घाटनको अवसरमा संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहनु भएको केसी वरिष्ठ प्रशिक्षक हुनुहुन्छ । 

एक हप्तासम्म चल्ने प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्रा.लि रहेको छ । सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके रहेको छ । विभिन्न संघ संस्थाहरूको समेत सहयोग रहेको छ । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरा सहित भारतको देहरादुन, काठमाडौँ, ललितपुर, चितवन, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्तर भेट्रान एट ए साइड फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button