तपाईँ सुन्दै हुनुहुन्छः

महोत्सवबाट बचेको सबै रकम लागुऔषध दुर्व्यसनीको उपचारमा 

चितवन । गत मङ्सिर महिनामा सम्पन्न भएको  चितवन नारायणी महोत्सवबाट बचेको रकम लागु औषध दुर्व्यसनीको उपचारको लागि सहयोग गरिएको छ । 

महोत्सव आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत र महोत्सव संयोजक पिंगलराज पन्तले (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत रिकभरिङ्ग युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठलाई १० लाख १ रुपैंयाको  चेक हस्तान्तरण गर्नुभयो । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन गर्दै महोत्सवको आय व्यय सार्वजनिक गरिएको थियो । 

मङ्सिर ६ देखि १६ गतेसम्म नारायणी नदी किनारमा लागूऔषध प्रयोगकर्ताहरूको उपचारका लागि महोत्सव आयोजना गरिएको थियो । 

औद्योगिक शान्ति नेपालले महोत्सवको आम्दानीबाट २० जना लागूऔषध प्रयोगकर्ताहरूको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज रिकभरिङ्ग युनाइटेडलाई रकम हस्तान्तरण गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष महतले बताउनुभयो । 

महोत्सवबाट ४९ लाख ६३ हजार ५०० रुपैयाँ आम्दानी भएको संयोजक पन्तले जानकारी दिनुभयो । यस्तै महोत्सवमा ३९ लाख ५८ हजार २३३ रुपैयाँ खर्च भएको पनि पन्तले बताउनुभयो । 

आम्दानी र खर्च घटाएर बचत भएको १० लाख ५ हजार २६७ रुपैयाँ मध्य १० लाख एक रुपैयाँ लागूऔषध प्रयोगकर्ताहरूको उपचारका लागि सहयोग गरिएको उहाँले बताउनुभयो । रिकभरिङ्ग युनाइटेडका अध्यक्ष श्रेष्ठले प्राप्त सहयोग रकम दुर्व्यसनमा  रहेका २० जनाको उपचारका लागि खर्च गरिने बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button