तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैङ्क गण्डकी प्रादेशिक कार्यालयको भवन काठमाडौँबाटै उद्घाटन 

पोखरा । राष्ट्रिय वाणिज्य बैङ्क गण्डकी प्रादेशिक कार्यालयको भवन काठमाडौँबाटै उद्घाटन गरिएको छ । नेपाल सरकारका अर्थमन्त्री रामशरण महतबाट राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँबाटै पोखराको नयाँ बजारमा हालै निर्माण भएको उक्त कार्यालय भवनको उद्घाटन भएको राष्ट्रिय वाणिज्य बैङ्क गण्डकी प्रादेशिक कार्यालयका निमित्त प्रादेशीक प्रबन्धक विधुर भुषण क्षत्रीले बताउनु भयो । 

उक्त भवनको हालसम्म करिब ९२ प्रतिशत निर्माण कार्यसम्पन्न भएको उहाँले बताउनु भयो । पोखराको नयाँ बजारमा करिब ४ रोपनी क्षेत्रफलमा ५ तले अत्याधुनिक भवन निर्माण भएको निमित्त प्रादेशीक प्रबन्धक क्षत्रीले उल्लेख गर्नु भयो । उक्त भवनमा आवश्यक पर्ने पानी भवनकै जमिन मुनिबाटै निकालिएको र सोलार लाइट समेत जडान भएकोले बिद्युत् नहुँदा समेत भवनमा कुनै समस्या नहुने उहाँले दाबी गर्नु भयो । 

भुईँ तलामा पार्किङ, पहिलो तलामा पोखराको पृथ्बीचोक शाखाबाट हुने गरेको आर्थिक कारोबार सुरु भएको उहाँले बताउनु भयो । बिचको तलामा भाडामा दिने योजना रहेको निमित्त प्रादेशीक प्रबन्धक क्षत्रीले  बताउनु भयो । राष्ट्रिय वाणिज्य बैङ्क प्रादेशिक तालिम केन्द्रको रुपमा विकसित गर्न खोजिएको उहाँले बताउनु भयो । त्यस भन्दा माथि गण्डकी प्रदेशको कार्यालय रहने भएको उहाँले जनाउनु भयो । उक्त भवन २५ करोडमा निर्माण भएको कार्यालयले जनाएको छ । 

नेपाल राष्ट्र बैङ्क अनुसार कृषि कर्जालाई प्राथमिकता दिँदै आएको बैंकले जनाएको छ ।  बैंकले सुन कर्जा, शैक्षिक कर्जा, कृषि कर्जा, पर्यटन कर्जा लगायतका क्षेत्रमा लगानी गरेको छ । प्रादेशिक कार्यालयमा १७ जना कर्मचारी र शाखामा १६ जना कर्मचारी रहनु भएको छ । पोखरामा उक्त भवन निर्माण हुनुले यस क्षेत्रका जनताको थप विश्वासले राष्ट्रिय वाणिज्य बैङ्क थप प्रभावकारी ढंगले आर्थिक कारोबार गर्ने भएको निमित्त प्रादेशीक प्रबन्धक क्षत्रीले दाबी गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button