झापामा मनाइयो राष्ट्रिय भक्का दिवस

भद्रपुर, झापा । राजवंशी कोच समुदायको बाक्लो बसोबास रहेको झापामा राष्ट्रिय भक्का दिवस हर्षोल्लासपूर्वक मनाइएको छ ।
जिल्लाको भद्रपुर, विर्तामोड र बाह्रदशीमा आज राष्ट्रिय भक्का दिवस मनाइएको हो ।
राजवंशी समुदायको मौलिक परिकार भक्कालाई प्रवद्र्धन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको रुपमा स्थापित गर्ने उद्देश्यले राजवंशी समाज विकास समिति झापाले हरेक वर्ष पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाउँदै आएको छ । यस पटक मनाइएको भक्का दिवस सातौँ हो ।
विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । यसैगरी, भद्रपुरको सिटीगार्डन र बाह्रदशीको राजगढमा पनि कार्यक्रम आयोजना गरिएको थियो ।
विर्तामोडको कार्यक्रम कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गर्नुभएको थियो भने भद्रपुरको कार्यक्रम कोशी प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशीले गर्नुभएको थियो ।
विर्तामोडको कार्यक्रममा १० हजारभन्दा बढीको उपस्थिति रहेको र सबैलाई भक्का खुवाइएको थियो भने भारतबाट आउनुभएका राजवंशी भाषा संस्कृतिका संरक्षक अनन्त रोयका साथमा कलाकारहरूको उपस्थिति रहेको कार्यक्रमका अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो ।
त्यस्तै, भद्रपुर करिब दुई हजार आगन्तुकलाई भक्का खुवाइएको अध्यक्ष उत्तम राजवंशीले जानकारी दिनुभयो भने बाह्रदशीमा पनि करिब दुई हजारलाई भक्का खुवाइएको अर्जुन राजवंशीले बताउनुभयो ।
चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भाक्काको इतिहास एक शताब्दीभन्दा पुरानो रहेको बताइन्छ ।








प्रतिक्रिया राख्नुहोस्