तपाईँ सुन्दै हुनुहुन्छः

चिसोबाट बच्न स्थानीय सरकारको सहयोग नपाएको सर्वसाधारणको गुनासो

विराटनगर । केही दिनदेखि बढेको शितलहर तथा चिसोका कारण मोरङलगायत पुर्वी तराईका जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ । 

दिनभरी लाग्ने हुस्सुका कारण विराटनगर–काठमाडौँ सञ्चालित विमान सेवा समेत प्रभावित भएका छन् । हुस्सुका कारण भिजलिटि  कम भएपछि उडान सेवा प्रभावित भएको हो ।

अत्यधिक चिसो बढेपछि  वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन् । दिनभरी काम गरेर बेलुका छाक टार्ने मजदुरहरूलाई चिसोले काम गर्न समस्या भएको छ ।  चिसो बढेपछि मोरङको विराटनगरलगायत अन्य बजारहरूमा चहलपहल कम भएको छ ।

एक हप्तादेखि  चिसो बढेपनि स्थानीय पालिकाहरूले अहिलेसम्म केही सहयोग नगरेको सर्वसाधारणको गुनासो छ । चिसोका कारण अति विपन्न वर्गका परिवार त्यसमा पनि सबैभन्दा वृद्ध वृद्धाहरू बिरामी पर्न थाले पनि स्थानीय पालिकाले चासो नदिएको मोरङ रंगेलीका स्थानीय किशोर मण्डलको भनाई छ  । गत वर्ष चिसो बढ्दा स्थानीय तहले चोक चोकमा आगो ताप्न दाउराको व्यवस्था गर्ने गरेकोमा यो वर्ष त्यस्तो सहयोग नपाएको उहाँ  बताउनुहुन्छ । 

विराटनगर स्थित कोशी अस्पतालमा चिसोका बिरामीहरू बढ्न थालेका छन् । दम, खोकी, ज्वरो तथा कोल्डडायरियाका बिरामीको चाप अस्पतालमा बढ्न थालेको चिकित्सकको भनाई छ ।

चिसो बढेपछि सर्वसाधारणका लागि संघीय तथा प्रदेश सरकारको  सहयोगमा राहत सामाग्री वितरण शुरु गर्न लागिएको मोरङका प्रमुख  जिल्ला अधिकारी एवं जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।

भोली (आइतबार) बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठक बसेपछि जिल्लाका १७ वटै पालिकाको समन्वयमा चिसोबाट बच्न न्यानो कपडा  औषधिलगायत विभिन्न प्रकारका आवश्यक  सामाग्री सर्वसाधारणलाई वितरण  गर्ने तयारीमा आफूहरू रहेको  उहाँले बताउनुभयो  । 

राहतका  लागि  विभिन्न संघ संस्थाहरूले सहयोग गरिरहेको भन्नुहुँदै उहाँले मापदण्ड र आवश्यकताको आधारमा राहत सामग्री वितरण हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button