आहा ! रारा पोखरा गोल्डकप : १२ टिमकाे सहभागिता रहने

कास्की । २३ औँ आहा रारा पोखरा गोल्डकपमा १२ टिम भिड्ने भएका छन् ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ ९गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १२ टिम भिड्ने टुङ्गो लागेको हो ।
क्लबले आज एक पत्रकार सम्मेलन गरी प्रतियोगितामा भारतीय घरेलु फुटबल लिग आइलिगको सन २०२३ र २०२४ मा सातौँ स्थानमा रहेको दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लब पारो भुटान एफसीको सहभागिता रहने जनाएको छ । दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउन लागेका हुन् । उनीहरूको सहभागिताले आहा ! रारा पोखरा गोल्डकपको उचाई थपिएको क्लबले जनाएको छ ।
यसैगरी, आयोजक सहारा क्लबसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरू सङ्कटा यूथ क्लब, चर्च ब्वाइज क्लब, मछिन्द्र एफसी, पोखरामा लोकप्रिय क्लबको रुपमा रहेको मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल यूथ क्लब र थ्री स्टारको सहभागिता हुने छ भने विभागीय क्लब नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसमेतको सहभागिता रहनेछ । त्यसै गरी सुनवलको राइजिङ स्टार क्लबको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।
“खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौँ” भन्ने उद्देश्यका साथ हुनलागेको उक्त प्रतियोगिता नेपालकै इतिहास बोकेको प्रतियोगिता समेत हो ।
प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपबिजेतालाई ६ लाख नगद रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्