७१ मेट्रिकटन मल गोदाममै रहँदा किसानकहाँ पुगेन मल
नवलपरासी,पश्चिम् । किसानलाई सधैँ मलको अभाव झेल्ने गरेका छन् ।समयमै मल नपाउँदा भारतीय मल ल्याउन किसान बाध्य छन् ।यति बेला चालू आर्थिक वर्षमा नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेडमा कोटामा आएको रासायनिक मल केही सहकारीहरूले लान ढिलाइ गरेपछि किसान सम्म मल पुग्न सकेको छैन । जिल्लामा आएको मल सहकारीहरूले खरिद गरेर नलैजाँदा कृषि सामग्रीको गोदाममा ७१ मेट्रिक टन मल गोदाममै रहेको छ।
हिउँदे बाली गहुँ,तोरी,मुसुरो तथा उखुका लागि लक्षित गरेर युरिया र डिएपी मल जिल्लामा पठाइएको हो । तर सहकारीहरूले मल लैजान बेवास्ता गर्दा समयमा मल किसानको हातमा पुग्न सकेको छैन ।
जिल्लाका ९ वटा सहकारीले मल नलगेको कृषि सामग्री कम्पनीका प्रमुख नरहरी पोखरेलले बताउनु भयो। पटक पटक पत्राचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको उहाँले जानकारी दिनुभयो ।”चालू आर्थिक वर्षकै लागि आएको हो पुरानो मल नभएकाले गोदाममै थन्कियो भन्न त नमिल्ला तर सहकारीहरूले लान ढिलाइ गरेका हुन”पोखरेलले रेडियो नेपाल सँग भन्नू भयो ।
जिल्लामा रहेका ७ वटै पालिकाहरूले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्राचार गरेका छन् ।उक्तपत्रानुसार कम्पनीले सहकारीलाई मल वितरण सुरु गरेको थियो । नामावलीअनुसार मध्येका ९ वटा सहकारीले मल नलगेपछि उनीहरूको नाममा रहेको ७१.३ मेट्रिक टन मल गोदाममा रहेको पोखरेलले जानकारी दिनुभयो । जसमा २३.७५० मेट्रिक टन युरिया र ४७.५५० डिएपी रहेको छ ।
जिल्लामा ७४ वटा सहकारी मार्फत मल वितरण हुँदै आएको पोखरेलले बताउनु भयो । मल नलैजाने सहकारीमा रामग्राम नगरपालिकाभित्र रहेको परासी आदर्श बहुउद्देश्यीय सहकारी संस्था,त्रिदेव बचत सहकारी संस्था रहेका छन् । त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको बचत ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था रहेका छन् । त्यस्तै सुनवल नगरपालिकाको स्वाठी कृषि सहकारी संस्था,प्रतापपुरको रामजानकी कृषि सहकारी संस्था,पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत सहकारी संस्था परसिया र सनही कृषि सहकारी संस्थाले मल नलगेको कम्पनीले जनाएको छ ।
जिल्लामा करिब १९ हजार हेक्टरमा हिउँदे बाली हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धानखेतिका लागि मल लिन चटारो हुने गरेपनी हिउँदे बालीको सिजनमा भने सहकारीहरू सेलाएका हुन ।








प्रतिक्रिया राख्नुहोस्