दुर्गम दार्मिटाकुरामा ४२ लाखको झोलुङ्गे पुल निर्माण, स्थानीयलाई राहत

जुम्ला । तातोपानी गाउँपालिका वडा नं ७ का स्थानीय खेमराज थापा झोलुङ्गे पुल निर्माण भएपछि उत्साहित छन् । ०७९ असोज १९–२५ सम्म परेको वर्षापछिको बाढीले काठेपुल बगाएपछि ताम्ती र गाडापारी गाउँका नागरिकलाई आवतजावतमा समस्या थियो ।
खेमराज सहित सयौँ नागरिकले जोखिम मोलेर नदीमाथि राखिएको सानो काठ (लाप्को)बाट यात्रा गर्थे । गाउँको समस्यालाई बुझ्दै पालिकाले तातोपानी–७ को दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माण गरेपछि स्थानीय उत्साहित भएका हुन् ।
पुल निर्माण समितिका अध्यक्ष समेत रहेका स्थानीय खेमराज थापाले भन्नुभयो,’पुल निर्माणपछि आवतजावतमा निकै राहत भएको छ । गाडापारीका ६० घरधुरीलाई नियमित आवतजावत गर्ने माध्यम कुनै थिएन् । वर्खाको सिजनमा एक डेढ सय घरधुरी नै गाडापारी बस्छन् । अब पुल बन्यो निकै राहत हुने भयो ।’
निर्माण सम्पन्न झोलुङ्गे पुलको गत शुक्रबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई र उपाध्यक्ष रेवती रावलले संयुक्त उद्घाटन गरेका हुन् । तातोपानी गाउँपालिका,फोरएस संस्था,स्थानीय जनश्रमदान गरि कुल ४२ लाख लगानीमा झोलुङ्गे पुल निर्माण भएको हो ।
जसमा पालिकाको ५ लाख ५८ हजार ४३० रुपैयाँ, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) बाट ३३ लाख ७० हजार ११७ रुपैयाँ, वस्तुगत अनुदान लठ्ठा, ग्रिस, थिम्बल, बुलडग सामाग्री तर्फ २ लाख ८१ हजार१५९ रुपैयाँ र स्थानीय निर्माण सामाग्रीको २ लाख ८६ हजार गरि कुल ४२ लाख ९५ हजार ६१५ रुपैयाँ लगानीमा झोलुङ्गे पुल निर्माण भएको सूर्य सामाजिक सेवा संघ फोरएसका प्राविधिक अधिकृत पूर्ण बहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार पुल निर्माणमा बाह्य सामाग्रीको अधिकतम प्रयोग हुने भएकोले सम्झौता भन्दा केही समय निर्माण ढिलो भएको हो । तातोपानीमा हाल सम्म १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा रहेको थापाले जानकारी दिनुभयो ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भौगोलिक रूपले विकट भेरी खोलाको विकास पालिकाको प्रथामिकतामा रहेको बताउनुभयो । पुल नहुँदा आउजाउमा समस्या भोग्दै आएका स्थानीयको राहतका लागि पुल निर्माण गरिएको उनको भनाई छ । झोलुङ्गे पुलको संरक्षणमा स्थानीय अग्रसर हुन सुझाव दिनुभयो ।
तातोपानी–७ का वडाध्यक्ष तिलक बहादुर रावतले दुर्गम भेरी खोला अझै आधारभूत विकासकै पर्खाइमा रहेको बताए । झोलुङ्गे पुल बनेपछि दैनिकी पनि निकै सहज बनेको छ । पुल नहुँदा निकै जोखिम मोलेर यात्रा गर्नु परेको भन्दै अब सहज भएकोमा खुसी व्यक्त गर्नुभयो ।
झोलुङ्गे पुलबाट प्रत्यक्ष अप्रत्यक्ष २१९ घरधुरी एक हजार ७८ जना लाभान्वित हुनेछन् । भेरी खोला क्षेत्रमा सञ्चारको पहुँच अझै विस्तार नभएकोले टावर निर्माणमा ध्यान दिन समेत भेरी खोलाका नागरिकले पालिकासँग माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्