संवैधानिक परिषद् विधेयकमाथि संशोधनकर्ताको सुझाव
काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिका संशोधनकर्तासँग छलफल गरेको छ ।
समितिको आजको बैठकमा संशोधनकर्ताले संशोधन पेस गर्नु पर्नाका कारण र औचित्य पुष्ट्याइका लागि कोसिस गर्नुभयो । उक्त विधेयकमाथि आठ जना सदस्यले विभिन्न विषयमा संशोधन हाल्नुभएको थियो ।
बैठकमा सदस्य सुमना श्रेष्ठ, अर्जुननरसिंह केसी, सोविता गौतम, निशा डाँगी, प्रेम सुवाल, सुशीला थिङ र रघुजी पन्तले आ–आफ्नो संशोधन ठिक रहेको दलिल पेस गर्दै संशोधन प्रस्तावका पक्षमा बैठकको समर्थन जुटाउने प्रयास गर्नुभयो ।
परिषद्को बैठक बोलाउनेसम्बन्धी कार्यविधि, बैठक सञ्चालन, बैठकका लागि आवश्यक गणपूरक सङ्ख्यका विषयमा संशोधन गर्न सरकारले विधेयक प्रस्तुत गरेको हो ।
बैठकमा सदस्य अर्जुननरसिंह केसीले नाम जे भए पनि पछिल्लो समय संवैधानिक परिषद् नभई भागबण्डा परिषद्मा परिणत भएको व्यङ्ग गर्नुभयो ।
केसीले भन्नुभयो, “परिषद् निरीह र लाचार बनेको छ, राज्यका संयन्त्रमा विधि विहीनता र दण्डहीनता मौलाएको छ, जनतामा देखिएका निराशा र आक्रोशलाई समयमै सम्बोधन गर्न सकिएन भने चुनौती खडा हुन्छ । प्रजातन्त्र भनेको प्रक्रिया मात्रै नभई पद्धति पनि हो भन्ने सम्झनुपर्छ ।”
सांसद सोविता गौतमले प्रस्तावित विधेयकमा उल्लेख गरिएको गणपूरक सङ्ख्या र वैधानिकताको प्रश्नलाई निराकरण गर्न संशोधन प्रस्तुत गरेको जानकारी दिनुभयो ।
समिति सदस्य सुमना श्रेष्ठले क्षेत्राधिकार र ओजका हिसाबले निकै महत्वपूर्ण मानिएको संवैधानिक परिषद्का निर्णय राष्ट्रहितमा लागू गर्न र परिषद्को बैठकमा उपस्थित नहुने सदस्यलाई दण्ड जरिवानाको व्यवस्था गर्न आवश्यक रहेको तर्क गर्नुभयो ।
कानुनी रिक्तताको अवस्था र संविधानको भावनाबमोजिम बैठक सञ्चालन गर्न बहाल रहेका सबै सदस्य उपस्थित हुनुपर्ने र सर्वसम्मतिबाट निर्णय गर्ने परिपाटी विकास गर्न तथा त्यो कायम हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने कार्यविधि तयार गर्न विधेयक प्रस्तुत गरिएको जानकारी दिइएको छ ।
यसअघि, बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधेयक पेस गर्नुपर्ने कारणबारे अघिल्लो बैठकमा प्रधानमन्त्रीबाट विधेयकको आवश्यकता र औचित्यबारे प्रस्तुति भइसकेको तथा विधेयकको उद्देश्य र कारणमा पनि त्यो विषय उल्लेख रहेको जानकारी दिनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, “संवैधानिक परिषद्सम्बन्धी यो विधेयक अत्यन्तै आवश्यक छ । यो विधेयक समयमा पारित हुन नसक्दा परिषद्का काममा बाधा परेको छ । समितिले गम्भीरताका साथ आवश्यकतालाई बोध गरी महत्व दिएर अघि बढ्नेछ ।”
समितिले विधेयकलाई राम्रोसँग अध्ययन गरी परिमार्जन गर्दै गुणस्तरीय बनाउने कानूनी अभ्यास रहेको बताउँदै उहाँले कार्यपालिकाको अधिकारलाई ध्यानमा राखेर विधेयकलाई निष्कर्षमा पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।
विधेयकमाथि गणपूरक सङ्ख्या र निर्णय प्रक्रियासँग सम्बन्धी मात्रै सरकारको चासो रहेको बताउँदै उहाँले परिषद्का सबै व्यवस्थालाई ध्यानमा राखेर सुझाव प्राप्त हुने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्