काँग्रेसले राष्ट्रियसभामा सत्ता साझेदार दलहरूसँग सहकार्य गरी साझा उम्मेदवार उठाउने

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता साझेदार दलहरूसँग सहकार्य गरी साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरूसँग मिलेर जाने निर्णय भएको बताउनुभयो ।
यस्तै, बैठकले पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्दा पार्टीमा लामो समय काम गरेका तर हालसम्म अवसर नपाएका व्यक्तिहरूलाई अवसर दिने गरी मापदण्ड समेत निर्धारण गरेको नेता विश्वकर्माले बताउनुभयो ।
यही पौष १२ गते देखी हिजो पौष १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनामा सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन सरकारसँग माग गरेको छ ।
यस्तै, बैठकले सहकारी ठगीको समस्या समाधान गर्न, सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरू छिटो निर्माण गर्न, जाजरकोट भूकम्पबाट क्षति पुगेको संरचनाहरूको पुनःनिर्माण छिटो अगाडि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।
बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कामको समीक्षा गर्नुका साथै समसामयिक राजनीतिक विषय, पार्टीको महासमिति बैठक, विभिन्न भातृ सङ्गठनको कार्यविधि थप गर्ने, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने लगायतका विभिन्न ११ वटा निर्णय गरेको नेता विश्वकर्माले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्