त्रिभुवन आर्मीलाई ३१ रनले हराउँदै पर्सा ११ फाइनलमा
वीरगञ्ज । वीरगञ्जको नारायणी रङ्गशालामा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको पहिलो सेमिफाइनल खेलमा पर्सा ११ ले त्रिभुवन आर्मीलाई ३१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
आजको खेलमा त्रिभुवन आर्मी १६.२ ओभरमा ६८ रन बनाउँदैमा अलआउट भएपछि पर्सा ११ ले ३१ रनले जित हात पारेको हो । त्रिभुवन आर्मीका खेलाडी कुशल मल्लले २१ बलमा १९ रन बनाउँदा बसिर अहमदले १५ बलमा १० र विनोद भण्डारीले १२ बलमा ९ रन जोडेका थिए ।

त्यसैगरी पर्सा ११ का क्याप्टेन सन्दीप लामिछानेले ३.२ ओभरमा १३ रन दिएर ३ विकेट लिएका थिए । त्यसैगरी अनिल साहले ४ ओभरमा २६ रन दिएर २ विकेट लिँदा पवन साहले ४ ओभरमा १५ रन दिएर २ विकेट तथा समसाद अहमदले २ ओभरमा ८ रन दिएर २ विकेट लिएका थिए ।
यसअघि पर्सा ११ ले त्रिभुवन आर्मीलाई १ सय रनको लक्ष्य दिएको थियो । पहिले ब्याटिङ गरेको पर्सा ११ ले १९.४ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो । पर्सा ११ का लागि समसाद मन्सुरीले २२ बलमा १७ रन बनाएका थिए भने अनिल साहले ९ बलमा १५ रन र रूपेश सिंहले पनि ९ बलमा १५ रन जोडेका थिए ।
त्रिभुवन आर्मीका बलर सोमपाल कामीले ३.४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने कुशल मल्लले ४ ओभरमा २१ दिएर ३ विकेट लिएका थिए । आजको दोस्रो सेमिफाइनल खेल नेपाल प्रहरी र भारतको नोयडाबिच हुने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्