प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट : कोशीले सुदूरपश्चिमलाई हरायो

काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । काजलले ४८ बलमा आठ चौकाको मद्दतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ५१ रनको योगदान गरिन । बिमला मलाहले ४ रन जोडिन । सुदूरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन ।
त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन । बलिङतर्फ कोसी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए । रासस








प्रतिक्रिया राख्नुहोस्