बागमती प्रदेश सभाको दोस्रो वर्षिकोत्सव मनाईयो

मकवानपुर । बागमती प्रदेश सभाको दोस्रो वर्षिकोत्सव आज प्रदेशको राजधानी हेटौंडामा मनाईएको छ । २०७४ साल माघ १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई दोस्रो वर्षिकोत्सवका रुपमा मनाएको हो ।
बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख प्रसाईले सुखि नेपाली समृद्ध नेपाल निर्माण गर्नेतर्फ अग्रसर हुन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रमुख प्रसाईले विगतको कामको समिक्षा गर्दै सुखि नेपाली समृद्ध नेपाल निर्माणमा अग्रसर बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिस्थिति सोचे अनुरुप नभए पनि प्रदेशका काममा निरासा हुने अवस्था नरहेको बताउनुभयो ।

उहाँले विभिन्न अबरोधका बीच प्रदेश सरकारले जनताको आवश्यकतालाई ध्यानमा राखेर काम काम अगाडी बढाएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी आउने छिट्टै सुरुङ्ग मार्ग बन्ने बताउनुभयो । प्रदेशको गेम चेन्जर प्रोजेक्टका रुपमा सुरुङ्ग मार्ग निर्माणमा लागेको बताउँदै उहाँले चैत महिनामा सुरुङ्ग मर्ग टेन्डरमा जाने बताउनुभयो ।
कार्यक्रममा बिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको भन्दै के गरी छिटो–छिटो गर्न सकिन्छ त्यसतर्फ लाग्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

दुई तिहाईको बलियो सरकार भएका बेला पनि बजेट खर्च गर्न नसक्नु राम्रो पक्ष नभएको उहाँको भनाई थियो । दु्रत गतिमा प्रदेशको काम अगाडी बढोस भनेर उहाँले शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सभामुख सानु कुमार श्रेष्ठले दुई वर्षको अवधिमा संविधान र प्रदेशसभा नियमावलीले दिएको अधिकार प्रयोग गरी कानून बनाउने, सरकार गठन गर्ने, सरकारको नीति कार्यक्रम र बजेट पास गर्ने, प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको निगरानी गर्ने काम गर्दै आएको बताउनुभयो ।
प्रदेशसभाबाट हालसम्म चार वटा अधिवेशन भै पाँचौ अधिवेशन सञ्चालन भईरहेको सभामुख श्रेष्ठले बताउनुभयो ।
चार वटा अधिवेशनमा पहिलोमा १९, दोस्रोमा ६१, तेस्रोमा ९ र चोथोमा ३८ वटा गरि कुल १२७ वटा बैठक बसेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै यस अवधिमा ४५ वटा विधेयक दर्ता भएर सबै पारित भै प्रमाणीकरण समेत भईसकेको तथा चालु अधिवेशनमा एउटा अध्यादेश सहित चारवटा विधेयक दर्ता भएकोमा अध्यादेश स्वीकृत भएको र दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संसोधनगर्न बनेको विधेयक पारित भईसकेको बताउनुभयो ।

कार्यक्रममा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी, प्रदेशसभा सदस्यहरु, प्रमुख सचेतक र सचेतकहरु, बिषयगत समितिका सभापति एवम् सदस्यहरु, प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल तथा मकवानपुरका स्थानीय तहका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रममा पहिलो र दोस्रो वर्ष सबै प्रदेशसभा बैठकमा सहभागि हुनुभएका प्रदेशसभा सदस्य दैविक श्रेष्ठ र दोस्रो वर्ष सबै बैठकमा सहभागी हुनुभएका प्रदेशसभा सदस्य मैना अछामी र सरस्वती बस्नेतलाई प्रसंसापत्रद्वारा सम्मानित गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्