तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा लाटोकोसेरो उत्सव हुने

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ फलामे डाँडामा पहिलोपटक लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामे डाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।

प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटोकोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिने छ । स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटोकोसेरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिनुभयो ।

चोरी निकासी, वन विनाश, विषादीको प्रयोग लगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथी नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताउनुभयो । उहाँका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटोकोसेरो उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो प्रदर्शनी लाटोकोसेरोको नमूना चित्रकला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये आठ प्रजातिका दुर्लभ किसिमका छन् । पहिलोपटक आयोजना गरिएको यो उत्सवले लाटोकोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामे डाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्ख पुर्जा पुनले बताउनुभयो ।

लाटोकोसेरोलाई किसानको साथी पनि भन्ने गरिन्छ । कृषकले मेहनत गरी उब्जाएको अन्नबाली खाएर दुःख दिने मुसो लाटोकोसेरोको मुख्य आहारा हो । यसले राती मात्र आँखा देख्छ र रातमा मात्र मुसाको शिकार गर्छ । यो पंक्षीको टाउको झट्ट हेर्दा बिरालो जस्तो देखिए पनि यसको शरीर पंक्षीको जस्तै हुन्छ । तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button