तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका ५४ हजार नागरिकलाई टाइफाइडविरुद्धको खोप लगाइँदै

जुम्ला । जुम्लाका साढे ५४ हजारबढी नागरिकलाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकारको भूकम्प प्रभावित जिल्लाहरूमा खोप अभियान २०८०–८१ अन्तर्गत जुम्लाका (१३ देखि ४५ वर्ष उमेर समूह) का ५४ हजार ६ सय ३५ जना नागरिकलाई टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । जुम्लाको जनसङ्ख्या करिब १ लाख २० हजार बढी छ । जसमध्य खोप उमेर समूहका साढे ५४ हजारलाई खोप लगाइने तयारी छ ।

भूकम्प प्रभावित जाजरकोट,रुकुम पश्चिम,लगायतका जिल्लामा खोप अभियान चलाउने राष्ट्रिय कार्यक्रम अनुसार जुम्लामा पुष ८ गतेदेखि १३ गतेसम्म खोप अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । 

उहाँका अनुसार खोप अभियानका लागि एक सय २० जना खोप कार्यकर्ता, दुई सय ४० जना स्वयम सेवक परिचालन गरिने छन् । भने तीन सय वटा खोप सेसन सञ्चालन हुने छन् । 

पहिला कुनै खोप लगाएर एलर्जी भएका,एड्स भएको अवस्था, हालै उच्च ज्वरो, सिकिस्त बिरामी भएको, गर्भवती महिला र ६ महिनाभित्र स्तनपान गराई रहेका महिलालाई भने टाइफाइड विरुद्धको खोल नलगाइने प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

पुस ८ गतेदेखि हुने खोप अभियान दुई चरणमा सञ्चालन गर्ने कार्यतालिका छन् । जसमा पहिलो चरणमा पुष ८ गतेदेखि १० गते सम्म कनकासुन्दरी,सिंजा र हिमा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । भने, दोस्रो चरणमा पुष ११ गतेदेखि १३ गते सम्म चन्दननाथ नगरपालिका सहित,गुठिचौर,पातारासी,तातोपानी र तिला गाउँपालिकामा खोप लगाइने छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन टाइफाइड विरुद्धको खोप अनिवार्य हो भन्ने कुरा जनचेतना अभिवृद्धिमा जोड दिन जरुरी रहेको छ । जुम्लामा मङ्गलवार आयोजित सरोकारवालाको बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने साँझा प्रतिबद्धता गरेका छन् । गाउँगाउँमा जनचेतना अभिवृद्धि, प्रचार प्रसार, शान्ति सुरक्षा,खोप केन्द्र छनोट,खटिने जनशक्तिलाई तालिम लगायत विभिन्न सवालमा समन्वय सहकार्य र सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्लाका साढे ५४ हजार नागरिक नछुट्ने गरी टाइफाइड विरुद्धको खोप अभियान सम्पन्न गर्न पत्रकार, नागरिक समाज, सुरक्षा निकाय, जनप्रतिनिधि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,“पुर्वतयारीलाई मजबुद बनायौ । भूकम्प प्रभावित जिल्लामा टाइफाइडको प्रकोप फैलिन सक्ने जोखिम न्युनिकरणका लागि खोप अभियान कोशेढुंगा सावित हुने छ । सबै पालिकामा आवश्यक समन्वय गरिने छ ।”

यसअघिनै ६ महिनादेखि १५ वर्ष मुनीका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाई सकेकोले अभियान अन्तर्गत १६ देखी माथि ४५ वर्षमुनिका नागरिकलाई खोप लगाइने भएको हो । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले खोप अभियान सफल बनाउन र सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन सुरक्षा निकायले भरपुर सहयोग गर्ने उल्लेख गर्नुभयो । गाउँमा खोप किन लगाउने ? खोप लगाएपछि के फाइदा हुन्छ भन्ने सोचाई रहेकोले व्यापक प्रचार प्रसारमा जोड दिनुपर्ने प्रजिअ घिमिरेको भनाई छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओका) प्रतिनिधि तथा डाक्टर पुरुषोत्तम सडाईले कुनै पनि क्षेत्रमा भूकम्प लगायतका विपद्पछि टाइफाइडको प्रकोप फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले खोप अभियान सञ्चालन गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो,“रोग प्रतिरोधात्मक क्षमता बढाउन टाइफाइड विरुद्धको खोप लगाउन अनिवार्य छ । खोपबाट कोही नछुटुन्, कोही नदोहोरिउन् भन्दै शतप्रतिशत नागरिकलाई खोपको पहुँचमा पुराउने सरकारको लक्ष्य छ । सोहीअनुसार जुम्लाका खोप लक्षित उमेर समूहका सबैलाई खोप लगाउन आवश्यक समन्वय सहकार्यमा जोड दिन जरुरी छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button