तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा २१ दिनमा २३८ छाउपडी गोठ भत्काईयो

डोटी । डोटीमा पछिल्लो २१ दिनको अवधीमा २ सय ३८ वटा छाउपडी गोठ भत्काईएको छ ।

गत पौष २६ गतेबाट शुरु गरिएको ‘छाउपडी नियन्त्रण सम्बन्धी १०० दिने विशेष अभियान’ का क्रममा जिल्लाका विभिन्न स्थानीय तह अन्र्तगत उक्त संख्यामा छाउपडी गोठ भत्काईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले जानकारी दिए ।

छाउपडी प्रथालाई समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत स्थानीय समुदायकै पहल, समन्वय र सहभागितामा क्रमशः नियन्त्रण, नियमन र निर्मुल पार्दै लैजाने र महिला तथा बालिकाको स्वास्थ्य र सुरक्षामा पर्ने जोखिमलाई न्युनिकरण गर्ने उद्धेश्यले अभियान चलाईएको प्रहरी उपरिक्षक देउवाले बताए ।

जस अनुसार सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकामा १ सय ८, बडिकेदार गाउँपालिकामा ९५, पूर्वीचौकी गाउँपालिकामा ३२ र जोरायल गाउँपालिकामा ३ वटा छाउपडी गोठ भत्काईएको शुक्रबार सम्पन्न सो अभियान सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिईएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमा रहेका छाउपडी गोठको तथ्याङ्क लिने र भत्काउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मध्ये तथा सुदूरपश्चिममा रहेको भनिएको छाउपडी प्रथा अन्त्यका लागि हाल जिल्लाका विभिन्न गाउँमा रहेका छाउपडी गोठ भत्काएर महिलाको ज्यान जानबाट जोगाउनु यस अभियानको पहिलो प्राथमिकता रहेको र समग्रमा यस प्रथाको अन्त्य गर्न अभियान चलाईएको डोटीका प्रमूख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १६८ (३) ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने र राष्ट्रसेवकले यस्तो कसुर गरेमा निजलाई थप तीन महिना सम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

सरकारले पछिल्लो समयमा विभिन्न जिल्लामा रहेका छाउपडी गोठ भत्काउने अभियानलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button