तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा पालिका स्तरीय पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ गरिँदै

सुर्खेत । कर्णालीमा पालिका स्तरीय पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ गरिने भएको छ । पर्यटन मार्फत रोजगार सृजना गर्न र स्थानीय अर्थतन्त्रलाई बढावा दिन पर्यटन रणनीति तथा कार्ययोजना मार्फत पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ गर्न लागिएको हो ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सह–लगानीमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा दुई दिनसम्म सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कार्यशाला गोष्ठीमा मार्फत पालिका स्तरीय पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ गर्न लागिएको छ ।

कार्यशालामा स्थानीय तहलाई दिगो पर्यटनको विकासका लागि नीतिगत रणनीतिक योजना बनाउँदै बजारीकरण, पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ, तथा पर्यटन प्रवद्र्धनका लागि मिडिया परिचालन लगायतका बारेमा जानकारी गराइएको छ । पालिकामा पर्यटन प्रवद्र्धनका चुनौती, अवसरहरू तथा प्राथमिकताहरू पहिचान गरी सम्बन्धित स्थानीय सरकारका लागि पाँच वर्षे पर्यटन गतिविधि योजना (छोटो, मध्य र दीर्घकालीन) मस्यौदा तयार गर्न कार्यशालाले सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले बताउनु भयो । उहाँले पर्यटनका क्षेत्रमा अत्यन्तै राम्रो काम गरिरहेका स्थानीय सरकारको सिकाई आदानप्रदानसँगै पर्यटन मार्फत रोजगार सृजना गर्न र स्थानीय अर्थतन्त्रलाई बढावा दिन पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला आयोजना गरिएको जानकारी दिनु भयो ।

कार्यक्रममा कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख रामबहादुर बुढाले स्थानीय सरकारको क्षमता अभिवृद्धिसँगै आवश्यक ज्ञान, सीप तथा विकासका लागि प्रभावकारी पर्यटन रणनीति एवं कार्ययोजना कार्यान्वयन गर्न कार्यशालाले सहयोग पुगेको बताउनु भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका शाखा अधिकृत प्रयास भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राथमिकतामा रहेको ७३ बुँदे कार्ययोजना, पर्यटन दशक २०२३–२०३२ दशक लगायतका विषयमा प्रस्तुतीकरण दिनु भएको थियो ।

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले स्थानीय पर्यटन व्यवसायलाई थप चलायमान बनाई समुदायको जीवनस्तर सुधारको आधारकोरुपमा विकास गर्न यस्ता कार्यशाला प्रभावकारी रहेको बताउनु भयो । कार्यशालामा कर्णालीका २० वटा पालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button