बारा, पर्साका स्थानीय सरकारविरुद्ध अख्तियारमा उजुरीको चाङ्ग

बीरगंज । स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विकासका गतिविधिलाई तीव्रता दिने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गठन भएका बारा, पर्साका स्थानीय सरकारविरुद्ध अख्तियारमा धेरै उजुरी परेका छन् ।
प्रदेश २ अन्तर्गतको बारा र पर्सा जिल्लामा स्थानीय तहमा जनप्रतिनिधिले अपेक्षित काम गर्न नसकेको भन्दै उजुरी र गुनासा व्यापक देखिएका छन् ।
वागमती प्रदेशका ११ जिल्ला र प्रदेश २ का दुईवटा जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका अनुसार १३ वटा जिल्ला मध्ये सबैभन्दा बढी उजुरी बारा र पर्साबाट परेका छन् ।
१६ वटा स्थानीय तह रहेको बारा तथा प्रदेश नम्बर २ कै एक मात्र महानगरपालिका सहित १४ वटा स्थानीय तह रहेको पर्सामा अधिकांश उजुरी योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सार्वजनिक जग्गा, झुटा बिल–भर्पाइ, कानुन विपरीत डोजरजस्ता हेभी इक्विपमेन्ट प्रयोग लगायतका विषयमा परेका छन् ।
बाराको स्थानीय तहसँग सम्बन्धित तीन सय वटा उजुरी मध्ये आधाको अनुसन्धान भइसकेको र अन्य कारबाहीको प्रक्रियामा रहेको अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता शिवराज रेग्मीले बताउनुभयो ।
त्यसैगरी पर्सामा दुई सय ४० उजुरी परेकोमा ७० प्रतिशतभन्दा बढी उजुरी स्थानीय तहको रहेको रेग्मीले बताउनुभयो । स्थानीय जनप्रतिनिधिको कार्यशैली र आचरण नसुध्रिएसम्म जनताका कामले प्राथमिकता नपाउने विश्लेषकहरु बताउँछन् ।
प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य एवम नेकपाका सचेतक सुन्दर विश्वकर्माले स्थानीय तहमा रहेका जनप्रनितिधिमा ज्ञानको अभाव हुंदा अधिकांशले रिसवी साध्न तथा अनावश्यक दुख दिन उजुरी दिने प्रवृति बारा पर्सामा हाबी भएको बताउनुभयो ।
बारा पर्सामा स्थानीय तहको निर्वाचनको बेला अधिकांश जनप्रतिनिधहरुले लाखाँै रुपैया चुनावमा खर्च गरेको सो खर्च असुल्ने मनसाय राख्दै कानुभन्दा माथि आफु रहेको र व्यापारी तथा ठेकदारसँगको साँठगाँठका कारण जनप्रतिनिधिहरु अनियमतिता र भ्रष्टाचारमा संलग्न हुने गरेको भेटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्