तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले साझा पहिचानको पक्षमा  छ : महासचिव पोखरेल

विराटनगर I नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको दाबी गर्नु भएको छ । 

नेकपा एमाले मोरङले आज  विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा एमाले साझा पहिचानको पक्षमा  अडिग रहेको बताउनुभयो । 

निर्वाचनमा  जनतासँग जे भनेर जान्छौँ, चुनाव जितेपछि पनि एमालेले त्यही गर्छ  भन्नुहुँदै उहाँले जनतालाई धोखा दिने काम एमालेबाट नहुने बताउनुभयो  । नेकपा एमालेले चुनावमा  एउटा कुरा र व्यवहारमा  अर्को कुरा  गर्दैन भन्नुहुँदै महासचिव पोखरेलले एमाले जहिल्यै साझा पहिचानको पक्षमा रहने बताउनुभयो । 

कोशी प्रदेश नामकरणको सवालमा पनि एमालेले साझा पहिचान खोजेको महासचिव पोखरेलले बताउनुभयो ।  नामकरणपछि बेइमान अरूले गरेको उहाँको भनाई छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी नामको पक्षमा सहमति दिएको महासचिव पोखरेलको भनाई छ ।

पहिचानवादीले आफ्ना माग एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रममा राख्न नसकेको उहाँले बताउनुभयो । एमालेलाई विरोध नगरी स्वागत गर्दै आफ्ना माग नेतृत्व समक्ष राख्ने राम्रो अवसर पहिचानवादीले गुमाएको उहाँको भनाई छ ।

मुलुकलाई समाधान दिने पार्टी एमाले मात्रै भएको भन्नुहुँदै महासचिव पोखरेलले  विप्लव , सिके राउतलाई मूलधारमा  ल्याएको बताउनुभयो ।

मध्य पहाडी लोकमार्ग केन्द्रित कार्यक्रममा ठुला सभा कोशी प्रदेशमा भएको बताउँदै उहाँले यात्राका क्रममा पहिचानवादीको अवरोध कसैले महसुस नगरेको  बताउनुभयो । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रालाई सबै पक्षले सकारात्मक रूपमा लिएको महासचिव पोखरेलको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button