तपाईँ सुन्दै हुनुहुन्छः

मकैको खोस्टाबाट आत्मनिर्भर बन्दै किसान 

अर्घाखाँची । मकैभन्दा पोस्कर (खोस्टा) ले मूल्य बढी पाउन थालेपछि अर्घाखाँचीको भुमिकास्थानका किसानको अतिरिक्त आम्दानी हुन थालेको छ । 

यहाँका किसानले आफ्नै बारीमा फलेको मकैबाट निस्किएको मकैको खोस्टा (पोस्कर)बाट मूल्यवान् हस्तकलाका सामान निर्माण गरी बिक्री वितरण गर्न थालेपछि अतिरिक्त आम्दानी हुन थालेको हो । 

गाई भैँसीलाई घाँस हाल्ने मकैको पोस्करबाट टोपी, झोला र ढक्की जस्ता सामान बनाउने सिप सिकाएर तयारी सामान भुमिकास्थान नगरपालिकाले खरिद गरिदिने भएपछि भुमिकास्थानका स्थानीयहरूमा खुशी छाएको छ । 

भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले प्रत्येक वडाबाट १० जनाका दरले १ सय जनाले तालिम लिएर कर्मशील जनशक्तिको रुपमा काम गर्न योग्य भएको जानकारी दिनुभयो । 

ओम राजश्री मल्टि एग्रो प्रा.ली. काठमाडौँको प्राविधिक सहयोगमा भुमिकास्थानले १० वटै वडामा सञ्चालन गरेको पहिलो चरणको ३० दिने तालिम  मङ्सिर २४ गतेबाट समापन भएको छ । 

“खेर जाने पोस्करबाट आम्दानी दिने सामाग्री बनाउन हामीले अभियान चलाएका छौँ” नगर प्रमुख थापाले भन्नुभयो, “यहाँका नागरिक पनि हाम्रो अभियानलाई साथ दिँदै व्यावसायिक रूपमै काममा लाग्ने योजना बनाउन थाल्नुभएको छ ।” सबैलाई उत्पादनमा जोडेर भुमिकास्थानलाई समृद्ध बनाउने छौँ ।”

भुमिकास्थान नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ देखि सञ्चालनमा ल्याएको कर्मशील जनशक्ति परिचालन कार्यक्रम अन्तरगत दोस्रो चरणमा पोस्कर र थाकलको पातबाट हस्तकलाका सामान तयार गर्ने जनशक्ति उत्पादन गरेको छ । मकैको पोस्कर र थाकलको पातबाट झोला, टोपी र ढक्की बनाउने ३० दिने तालिमबाट भुमिकास्थानमा १ सय जना कर्मशील जनशक्ति तयार भएका छन् ।

नगरपालिकाको आयोजनामा तालिम प्राप्त कर्मशील जनशक्तिले तयार पारेका पोस्कर र थाकलको पातबाट बन्ने सामाग्री ओम राजश्री मल्टि एग्रो प्रा.ली. काठमाडौँले बजारीकरण गर्ने गरि सम्झौता भएको भुमिकास्थानका योजना शाखा अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिनुभयो । 

उहाँका अनुसार ३० दिने तालिमबाट तयार भएको जनशक्तिले १५ दिन सामूहिक रूपमा सामाग्री बनाउनेछन् भने त्यस पश्चात् ओम राजश्रीले ७ दिन पुनः रिफ्रेसिङ्ग तालिम दिनेछ । उक्त तालिमपछि भुमिकास्थानका १० वटै वडामा तयार भएका सामाग्रीलाई सङ्कलन गर्न भुमिकास्थानको कोशेलीघर स्थापना गरि बजारीकरण गरिने छ ।

३० दिने तालिमकै समयमा प्रयोग भएको पोस्कर र तयार भएका हस्तकलाका सामाग्री समेत नगरपालिकाले खरिद गरि पैसा दिन थालेपछि व्यावसायिक रूपमै पोस्करका सामाग्री बनाउन भुमिकास्थानका किसानको रहर जागेको भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले बताउनुभयो । 

सुकेको पोस्करकै प्रति किलो १ सय ५० रुपैयाँ, पोस्करबाट बनेको टोपी प्रति थान ६ सय रुपैयाँ र झोला प्रति थान ५ सय रुपैयाँमा बिक्री हुने गरेको यहाँ थालेको स्थानीयले बताएका छन् । 

कर्मशील जनशक्ति परिचालनबाट तयार हुने सामाग्री तथा उपजको बजारीकरणको हुने भएसँगै भुमिकास्थानका सर्वसाधारणको आन्तरिक आम्दानी बढ्ने, स्वरोजगारको सिर्जना हुने र बसाइसराई रोकिने आँकलन गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button