तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताउनुभएको छ ।

भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मुलुकबाट भ्रष्टाचार, तस्करी, कमिसन तन्त्रको अन्त्य गर्दै सुशासन कायम गर्ने विषयमा गठबन्धन सरकारले नीति नै बनाएर अगाडि बढेको उहाँको दाबी थियो । सोही कारणले पछिल्लो समय धमाधम सुन तस्करी पक्राउ पर्न थालेको उहाँको भनाइ छ ।

महासचिव गुरुङले एनसेल शेयर खरिद बिक्री प्रकरणमा छानबिन गर्न सरकारले समिति नै गठन गरेको भन्दै दोषी उपर कारबाही भएरै छाड्ने दाबी गर्नुभयो । सरकारले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै जनपक्षीय काममा अगाडि बढेर अराजक तत्त्वलाई विस्थापित गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले गणतन्त्रको स्थायित्वदेखि मुलुकको समग्र समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो ।

आवश्यकताअनुसार देशको व्यवस्था र प्रणालीलाई सुधार्दै लैजानुपर्नेमा जोड दिँदै व्यवस्था नै परिवर्तन गर्छु भन्ने अराजक तत्त्व असफल हुने बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई मूर्तरूप दिन छलफल चलिरहेको बताउँदै महासचिव गुरुङले समाजवादी मोर्चालाई अगाडि बढाउने र मोर्चाभन्दा बाहिर रहेकालाई समेटेर संयोजन समिति बनाएर एकीकरण अगाडि बढाइने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button