ठूलो परिमाणमा सुनका गरगहनासहित दुई जना पक्राउ

बाँके । बर्दियाको कर्तनियाबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले अवैध सुनका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
२८ प्रकारका तयारीका सुनका अवैध गरगहनाहरूसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ पर्नेमा बाँके राप्ती सोनारी गाउँपालिका– २ का दिपेन्द्र घर्तीमगर र नेपालगन्ज उपमहानगरपालिका– १९ का मोहन विक रहेका छन् ।
इलाका प्रहरी कार्यालय बाँसगढीबाट प्रहरी निरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा गएको टोलीले पूर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिका– ९ कर्तनियाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
अवैध रूपमा सुनको कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले टोलीले उनीहरू सवार प्रदेश३–०१०२३ च ८१६८ नम्बरको गाडीलाई चेकजाँच गर्दा सुनका गरगहना फेला पारेको हो । प्रहरीले उनीहरूलाई सुनका गरगहनाका बिल देखाउन भने पनि बिल देखाउन नसकेपछि सुनका गरगहना, गाडीसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद भएका सुनका अवैध गरगहनाको तौल २९ तोला रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ।








प्रतिक्रिया राख्नुहोस्