पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
पोखरा । पोखरा रङ्गशालामा जारी आइटीएफ जे–३० को दोस्रो सर्किट अन्तर्गत डबल्स पुरुषतर्फ नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी प्रथम हुनुभएको छ ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गरी आरभ र रिकुले प्रथम स्थान हासिल गर्नुभएको हो । त्यसै गरी महिला डबल्सतर्फ जापानकी उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम हुनुभयो । फाइनल खेल खेलमा यो जोडीले भारतका भेनेला रेडी गारुगुपाटी र सायवी सायवी गौरव दलालको जोडीमाथि ६–३, ६–३ को नजिता हात पार्न सफल भयो ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, टुर्नामेण्ट डाइरेक्टर अजय विष्ट, आयोजक संघ कास्कीका सदस्य विष्णुबहादुर थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि आरब सम्राज हाडा र एलेक्से सिवोइव भिड्नु हुने भएको छ । आरबले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जित हाँसिल गर्दै फाइनलमा स्थान बनाउनुभएको हो । त्यस्तै महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवालाले फाइनलमा स्थान पक्का गर्नुभयो ।
आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६–१, ६–१ ले तथा खोराकीवालाले भारतकै भामिका सर्मालाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा यात्रा बनाउनुभएको हो ।
प्रतियोगिताको समापन शनिबार हुने आयोजक संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक लोक बहादुर गुरुङले बताउनुभयो । प्रतियोगितामा ११ देशका ९० भन्दा बढी १८ बर्ष मुनिका खेलाडीहरू सहभागी हुनुभएको संघका सचिव नवीन श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्