तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीलाई पोखरामा भव्य स्वागत (फोटो फिचर )

पोखरा ।  नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा भव्य स्वागत गरिएको छ । नेकपा एमाले सञ्चालन गरिरहेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’को अभियान अन्तर्गत अध्यक्ष ओली सहितको टोलीलाई पोखरामा आज भव्य स्वागत गरिएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताउनु भयो ।

आज (शुक्रबार) पुष्पलाल पार्क, जिरो किमी, अमरसिंह चोक र तालचोकमा पार्टी अध्यक्ष ओलीसहितका नेताहरूलाई फुल माला, खादा, फेटा, भाङ्ग्रा समेत लगाउँदै स्वागत गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । पोखराको अमरसिंह चोकमा बिहानै ८ बजे देखि ठुलो सङ्ख्यामा एमाले नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । अध्यक्ष ओलीसँग सेल्फी लिन बृद्धबृद्धादेखि युवाहरूको उत्तिकै क्रेज देखिन्थ्यो ।

त्यसै गरी पिपलेबजार, रुपा गाउँपालिकामा कास्कीबाट उक्त अभियानको टिमलाई बिदाइको कार्यक्रम रहेको एमाले कास्कीका सहसचिव दर्शन लामाले बताउनु भयो ।

पर्वतबाट आएको उक्त टोलीलाई बिहीबार कास्कीको नयाँपुलमा स्वागत गरिएको थियो भने कास्कीको अन्नपूर्ण गाउँपालिका नागडाँडा, हेमजाको मिलनचोक, हेम्जामा समेत स्वागत तथा नेता तथा कार्यकर्तासँग भेटघाट भएको एमालेले जनाएको छ ।

“बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्पयात्रा”को एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरी सुरु भएको उक्त अभियान कास्की पछि लमजुङमा समेत हुने भएको एमाले नेता नवराज ओझाले बताउनु भयो ।

नेकपा एमाले कास्कीले पोखरा सहित कास्कीका विभिन्न ९ वटा स्थानमा अध्यक्ष ओली सहितको उक्त अभियानमा रहेका सदस्यहरूलाई स्वागत गरी छलफल गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button