तपाईँ सुन्दै हुनुहुन्छः

कोइला नपाउँदा आरन व्यवसाय सङ्कटमा

मोरङ । आगोको रापसँगै फलाम पिटेर विभिन्न औजारहरू निर्माण गर्ने आरन व्यवसायीको पेशा हिजोआज सङ्कटमा पर्न थालेको छ । व्यवसाय सञ्चालनका लागि आवश्यक कोइला नपाउनाले पेशा सङ्कटमा पर्दै गएको हो।

पाका पुस्ताहरूले अङ्गालेको आरन पेशालाई आधुनिकीकरण गर्न नसक्दा युवा पुस्ताले चासो दिएका छैनन् । त्यसैले पुस्ता हस्तान्तरण हुन नसक्दा परम्परागत पेशा नै लोप हुने सम्भावना बढेको छ । त्यसो त आगोमा फलाम पिटेर आरनबाट विभिन्न औजारहरू बनाउने पेशा गाउँ घरमा कायमै छ।

मेसिनबाट निर्मित आयातित औजारहरूले प्रभाव जमाउनु अघि गाउँ घरमा आवश्यक पर्ने घरायसी औजारहरू आरनबाटै बन्ने गर्दथे। तर पछिल्लो समय आरन र आरनमा काम गर्ने मानिस दुवै घट्दै गएका छन्। आरनबाट औजार बनाउने प्रविधिमा समयानुकूल सुधार हुन नसक्नु यसको मुख्य कारण मानिएको छ । यसबाट गुजारा चलाउन गाह्रो भएकै कारण यो पेशा सङ्कटमा परेको आरन व्यवसायी बताउँछन्।

ज्याला कम आउने तर धेरै मेहनत पर्ने भएकोले युवा पुस्ताले परम्परागत आरन पेशा अपनाउन नचाहने गरेको उनीहरूको भनाइ छ । आरन नहुँदा परम्परागत घरायसी तथा कृषि औजारहरू मर्मत गर्न समेत समस्या हुने गरेको स्थानीयहरू बताउँछन् ।

अहिले पनि ग्रामीण क्षेत्रमा अधिक प्रयोग हुने कुटो, कोदालो, हँसिया, खुकुरी लगाएर कृषि औजारहरू आरनबाटै बन्ने गर्छन्। यी औजारहरूको माग अहिले पनि बजारमा धेरै नै छ। प्रविधिमा सुधार गरी पेशालाई प्रोत्साहित गर्न सके स्थानीय स्तरमा रोजगारी पनि बढ्ने स्थानीयहरूको भनाइ छ ।

मोरङका गाउँ घरमा सञ्चालित आरनहरूमा एक दशक अघिसम्म आरनमा घरेलु तथा कृषि उपकरण बनाउनेको भीड हुने गर्दथ्यो । तर, हिजोआज कोइलाको अभावका कारण यहाँका व्यवसायी आरन चलाउन सक्ने अवस्थामा छैनन्।

ग्रामथान गाउँपालिका–३ का आरन व्यवसायी राज कुमार विश्वकर्मा कोइला अभावका कारण पेशा सङ्कटमा पर्न थालेकोमा चिन्तित हुनुहुन्छ ।

ग्रामथान गाउँपालिका–२ का हस्त बराइली पनि कोइला पाउन छाडेपछि आफ्नो पेशा नै सङ्कटमा परेको बताउनुहुन्छ । आरन पेशाबाट परिवार चलेको बताउँदै उहाँले कोइलाको सहज आपूर्तिका लागि सरकारसँग माग गर्नुभयो ।

सरकारले आरन व्यवसायलाई संरक्षण, प्रवर्द्धन गरी जीविकोपार्जनसँग जोड्नुपर्ने आवश्यक देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button