तपाईँ सुन्दै हुनुहुन्छः

डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले दिए प्रहरीमा धर्ना

रुपन्देही । मङ्गलवार राती सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) भित्रै चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सकहरूले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको विषयमा छलफल गर्ने क्रममा मेसु डाक्टर राजेन्द्र बस्यालमाथि मृतकका आफन्तले आक्रमण गरेपछि गम्भीर घाइते उनको आइसियुमा उपचार भइरहेको छ ।

बिहीबार आक्रमणकारीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन), नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), मेलान, निजी अस्पताल व्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वास्थ्य संस्थामा आबद्ध संस्थाहरूले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।

चिकित्सकलाई हातपात गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग उनीहरूले राखेका छन् । संघका सचिव डा। सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अपराध अन्तर्गत कारबाहीका लागि मुद्दा दर्ता गर्न लागेको जानकारी दिनुभयो ।

पक्राउ परेका सात जनाउपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको उहाँको भनाइ छ । प्रहरीबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको र चिकित्सकको घाउचोट सुधार हुन लागेको उहाँको भनाइ छ ।  इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले संवेदनशील घटना घटेको भन्दै घटनाबारे कानुन बमोजिम कारबाही अघि बढ्ने बताउनुभयो ।

निजी अस्पताल व्यवसायी संघ (अफिन) लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरू उपचार गर्दा समेत पिटिनुपर्ने अवस्था आउनु दुःखद भएको बताए । यस्तो विकृति रोक्नेतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उनले आम नागरिकले सहज उपचारको व्यवस्थामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सेवामा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै सोही रातीबाट नै आम्दामा आकस्मिकबाहेकका सबै उपचार रोकिएको छ । महिला तथा बालबालिकाको उपचार हुने यो अस्पतालमा सेवा रोकिँदा सयौँ बिरामीहरू अलपत्र परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button