तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप : कोशी प्रदेशको सान्त्वना जित

कास्की । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रङ्गशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटको जित हासिल गरेको हो । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७.४ ओभरमा पुरा गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक निलोलाई १७.५ ओभरमा ६७ रनमा रोक्न सफल भयो । ओपनर रोनिम तिवारीलाई फिर्दोश अन्सारीले शून्य रनमा पेभिलियन फर्काए पछि आयोजक निलो दबाबमा परेको थियो । अर्का ओपनर अर्जुन रायमाझीले व्यक्तिगत २४ रन जोडे । उनलाई सोनु मण्डलले आउट गरे । मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोड्नु बाहेक चार जना खेलाडी डक आउट हुँदै पेभिलियन तिर फर्किए ।

आयोजकलाई सस्तैमा समेट्न म्यान अफ दि म्याच समेत रहेका श्रवण यादवले ३.५ ओभरको खेलमा ८ रन दिएर ३ विकेट लिए । कमल खत्री र फिर्दोश अन्सारीले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको कोशीका लागि ओपनर सोनु अन्सारीले ३ चौका र ३ छक्का प्रहार गर्दै २२ बलमा ३५ रन बनाए । तेस्रो क्रममा आएका मिनाश थापाले ७ बलमा १८ रन बनाए भने अर्का ओपनर अंकित सुवेदी १४ रन जोडे । उनी शुभम खनालको बलमा आउट भए ।

भोली बिहीबार पोखरा रङ्गशालामा दुई सेमिफाइनल खेल सम्पन्न हुनेछन् । पहिलो खेल विभागीय टोली नेपाल आर्मी र बागमती प्रदेश तथा दोस्रो खेल एपिएफ क्लब र मधेश प्रदेशबिच हुनेछ । फाइनल खेल शुक्रबार ११ बजे सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button