हेटौँडामा भोलिदेखि एसियाली बुद्धिचाल प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा भोलि (बुधबार) बाट ‘हेटौँडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ आयोजना हुने भएको छ । आगामी मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल सङ्घले आयोजनामा गर्न लागेको हो ।
बुद्धिचाल संघ मकवानपुरका अध्यक्ष मनोज श्रेष्ठका अनुसार प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीले सहभागिता जनाउनेछन् । अध्यक्ष श्रेष्ठले अहिलेसम्म एक सय एक जना खेलाडीले नाम दर्ता गराइसकेको समेत जानकारी दिनुभयो ।

स्विस नियमअनुसार नौ राउन्डमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि प्रत्येक खेलाडीले दश हजार तिरेर रजिस्ट्रेसन गर्नुपर्नेछ । प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्नेको सुविधा भने आयोजकले व्यहोर्ने बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धरम लामाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने खेलाडीले ४० हजार नगद प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा चौथो हुनेले २५ हजार र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, छैटौँदेखि १० औँ स्थानसम्मका प्रत्येक प्रतियोगीले नगद १५ हजार, ११ औँ देखि १५ औँ सम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय लगायत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि ६१ लाख १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्