तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिनुभएको छ ।

अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्ताबापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउनुहुँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिनुभयो ।

सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अङ्गका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुनर्निर्माण पछिको कामका लागि स्रोतको कमी नरहेको बताउनुभयो । उहाँले भूकम्पले पुर्याएको क्षतिको तथ्याङ्क आउने बित्तिकै पुनर्निर्माणको काम सुरु गरिने उल्लेख गर्नुभयो ।

उहाँले भूकम्पमा क्षति भएका विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संरचनाको अस्थायी र स्थायी संरचना सङ्घ सरकारले निर्माण गर्ने गरेर तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा अङ्गका प्रमुख लगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button