तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ५० जना कुष्ठरोगी

अछाम । ६७औं विश्व कुष्ठरोग दिवस अछाममा पनि मनाईएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा “कुष्ठरोग बिरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान ” भन्ने नारासहित दिवस मनाईएको हो ।

कार्यक्रममा सन २०२० भित्र प्रति १० हजार जनसंख्यामा कुष्ठरोगिको संख्या एक जनाभन्दा कम गर्ने लक्ष्य रहेको जानकारी गराईएको थियो ।

नेपालमा आर्थिक वर्ष २०७५/७६ मा नयाँ पत्ता लागेका तीन हजार दुई सय ८२ जना मध्ये महिला एक हजार एक सय ४३ जना रहेको तथ्यांक सो अवसरमा जानकारी गराईएको थियो ।

हाल सुदुरपश्चिम प्रदेशमा दुई सय ६६ जना कुष्ठरोगी रहेका छन् भने प्रकोपका हिसाबले कैलालीपछि दोस्रो नम्वरमा अछाम रहेको पाईएको छ ।

अछामका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा सेवा लिन आएको तथ्यांक अनुसारको तथ्यांक हेर्दा रामारोशन गाउपालिकामा आठ जना, बान्निगढीमा दुई, मेल्लेखमा एक, तुर्माखादमा एक, ढकारीमा एक, पञ्चदेवल बिनायक नगरपालिकामा आठ, साफेबगरमा सात, कमलबजारमा दुई, चौरपाटी गाउपालिकामा एक र मंगलसेन नगरपालिकामा १९ जना कुष्ठरोगी रहेको स्वास्थ्य कार्यालय अछामको तथ्यांकले देखाएको छ ।

अछाममा जम्मा ५० जना बिरामी रहेको मध्ये ४७ पुरुष, दुई बालबालिका र एक महिला छन । रोग सर्ने दर कम गर्न जिल्लामा विभिन्न कार्यक्रम चलिरहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो ।

बिरामीहरु अपांगता भईसकेपछि मात्रै उपचारमा आउने भएकोले समस्या हुनेगरेको उहाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button