नेपाल संवत् पोखरामा र्याली सहित मनाइँदै (फोटो फिचर)

पोखरा I नेपाल संवत् ११४४ को अवसरमा पोखरामा र्याली सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
नेवा खलः कास्कीले मौलिक तथा राष्ट्रिय संवत्लाई विशेष रूपमा मनाउने गरी भिन्तुना र्याली आयोजना गरेको संस्थाका अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।

म्ह पूजाको अवसरमा आज कार्तिक २८ गते(मङ्गलवार) पोखराका विभिन्न स्थानमा झाँकी सहितको र्याली प्रदर्शनी भएको अध्यक्ष पालिखेले बताउनु भयो । मङ्गलवार बिहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो भने त्यस पश्चात् करिब ८ः३० बजे कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायहरूको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्याली सहभागी हुनु भएको नेवा : खल कास्कीले जनाएको छ ।

पृथ्वीचोकबाट सुरु भएको उक्त र्याली नयाँबजार महेन्द्रपुल, पाखिलेचोक, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेर समापन हुदैछ । र्याली मा सहभागी हुने समूहहरूले जातीय सांस्कृतिक पोसाक सहित उपस्थित हुनु भएको अध्यक्ष पालिखेले जनाउनु भयो ।

उक्त र्याली मा उत्कृष्ट हुने समूहहरूमध्ये प्रथम हुनेलाई २५ हजार, द्धित्तीय हुनेलाई ७ हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद रु ५÷५ हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

नेपाल संवत्लाई राष्ट्रिय सम्वतको रूपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको प्रचार प्रसार गर्ने तथा आपसी भाइचाराको विकास गरी आत्मीयता कायम गर्ने उद्देश्यले र्याली निकाल्न लागिएको अध्यक्ष पालिखेको भनाई छ ।
















प्रतिक्रिया राख्नुहोस्