प्लाष्टिकको छानामुनि सुत्न विवश कैदीबन्दी
डोटी-जिल्ला कारागार डोटीका कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पच्चीस मात्र कैदीबन्दीको क्षमता रहेको कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा समस्या भएको हो । पानी पर्दा छानाबाट पानी चुहिने भएकाले प्लाष्टिकको छाना बनाएर सुत्न बाध्य भएका छन् ।
वर्षौं पुरानो कारागार जीर्णभएको छ । कारागारमा पुरुष ४३ र महिला चार गरी हाल कूल ४७ बन्दी रहेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताउनुभयो ।
सरकारले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । कारागारका छानामा राणाकालमा लगाइएका स्लेट खिएर झर्न थालेको कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले बताउनुभयो ।
मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको कारागारका कर्मचारी बताउँछन् । कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी हुँदा खानेपानी थाप्न र शौचालय जानका लागिसमेत पालो पखर्नुपर्ने अवस्था रहेको कैदीबन्दी बताउँछन् ।
कैदमुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको माग रहेको छ । कारागार मर्मतका लागि खासै ठोस बजेट नआएकाले सामान्य वर्षात् हुँदा पनि झनै दुःख पाइने गरेको कैदीबन्दीको गुनासो रहेको छ ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले जीर्ण कारागार मर्मतका लागि केही रकम दिने आश्वासन दिएको कारागार प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो ।
कैदीबन्दीलाई पढ्न सजिलो होस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय डोटीले केही महिना पहिले कारागारमा पुस्तकालयको समेत व्यवस्था गरेको छ । पुस्तकालय स्थापना भएपछि कैदीबन्दीलाई पुस्तक पढ्न र समय बिताउन निकै सजिलो भएको कैदीबन्दीका नाइके जेठाराले जानकारी दिनुभयो ।डोटी कारागार सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो राणाकालीन कारागार हो ।








प्रतिक्रिया राख्नुहोस्