तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन् : मन्त्री बस्नेत

ललितपुर । स्वास्थ्य  तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताउनुभएको छ । 

स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उहाँले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा काम गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । 

“१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको छु । अहिले एउटा पनि बाँकी छैनन्”, मन्त्री बस्नेतले भन्नुभयो, “सुआहारा परियोजनाले स्वस्थ जीवनशैलीको कुरा गर्छ । हामीले अरूलाई स्वास्थ्य बनाउन आफू स्वास्थ्य रहनुपर्छ । एउटा मान्छे स्वास्थ्य नहुँदा परिवारका साथै समाजलाई पनि असर पर्छ । हामीले राम्रो कामको सुरुवात आफैँबाट गर्ने हो ।”

उहाँले बाल मृत्युदर घटाउन स्वास्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुहुँदै बच्चालाई कुपोषणबाट बचाउन गर्भदेखि नै हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले समाजको तल्लो तह, दुर्गम बस्तीसम्म गएर गरेको सुआहारा कार्यक्रम परियोजनाका कार्यक्रमले सकारात्मक सन्देश दिइरहेको तर्क गर्नुभयो । 

स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७र२८ हजार मात्रै रहेको जनाउँदै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताउनुभयो । “तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७र२८ हजार मात्रै छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा निःशुल्क भनेर संविधानमा लेखिएको छ । अहिले पनि प्रभावकारी काम हुन सकेको छैन । राम्रो काम गर्नेलाई सम्मान र नगर्नेलाई निगरानी गरेर सुधार्न लागि परेका छौँ ।”

जनताको सेवामा स्थापित स्थानीय पालिकाका स्वास्थ्य संस्थालाई आवश्यकपर्ने स्वास्थ्य उपकरण मन्त्रालयले प्राथमिकता दिएर उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ थियो । उहाँले स्वास्थ्य क्षेत्रमा थाहा नभएको / नजानेको काम विज्ञसँग सिक्नुपर्ने भन्दै मन्त्रालयले एक दिनमा कम्तीमा एउटा मात्रै भए पनि राम्रो काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहले सुआहारा परियोजना स्वास्थ्य क्षेत्रको एक सफल कार्यक्रम भएको बताउनुभयो । यो परियोजनाले तीन सय ८० भन्दाबढी स्थानीय तहका  नागरिकको घरदैलोमा पुगेर जनस्वास्थ्यको विषयमा सचेत गराउन सकेको बताउँदै उहाँले सरकार र नागरिकलाई जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो । 

स्वास्थ्य सेवा विभागकी महानिर्देशक सङ्गीता कौशल मिश्रले सुआहारा कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकामा सकारात्मक प्रभाव पारेको भन्दै नेपालको स्वास्थ्य प्रणालीमा सुधार ल्याएको बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका सामाजिक विकास महाशाखा सहसचिव डा किरण रुपाखेतीले कार्यक्रम नेपालको स्वास्थ्य क्षेत्रलगायतका क्षेत्रमा काम गर्ने एक भरपर्दो साझेदार भएको बताउनुभयो । सन् २००६ देखि सुरु भएको यो परियोजनाको दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको बताउँदै उहाँले तेस्रो बहुपक्षीय पोषण कार्यक्रम परियोजनाको ड्राफ्ट गरेर मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button