तपाईँ सुन्दै हुनुहुन्छः

युवा उद्यमी पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष निर्वाचित

काठमाडौँ । युवा जलविद्युत् उद्यमी सुशील पोखरेल वर्ष २०२३–२५ का लागि इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

विकासोन्मुख यात्रामा अगाडि बढेको देशका लागि विश्व जलविद्युत् मञ्चमा नेपालको यो गौरवपूर्ण उपलब्धि हो । कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ मा पोखरेल उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । 

उपाध्यक्षमा निर्वाचित भएसँगै पोखरेलले नेपालको जलविद्युत् क्षेत्रलाई विश्वको लगानीयुक्त गन्तव्य बनाउने अभियानलाई आफूले अझ प्रबल रूपमा अगाडि बढाउने बताउनुभयो ।

उहाँले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्नु हुनेछ । विश्व जलविद्युत् मञ्चमा भएको नेपालको उपस्थितिले दिगो स्वच्छ तथा नवीकरणीय ऊर्जा विकासमा कटिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो ।

पोखरेलले लामो समयदेखि हरित ऊर्जा र दिगो जलविद्युत् विकासको नीतिगत तहमा बहस तथा पैरवी गर्दै आउनुभएको छ । 

३ दिनसम्म चलेको सम्मेलनमा विभिन्न देशका नौ सयभन्दा बढी नीति निर्माता, बुद्धिजीवी, कूटनीतिज्ञ तथा जलविद्युत क्षेत्रमा दशकौँदेखि काम गरिरहेका कम्पनीहरूका प्रतिनिधिहरूको सहभागिता थियो । 

सम्मेलन समापनको दिन जारी ‘बाली घोषणापत्र’ले स्वच्छ तथा नवीकरणीय ऊर्जामार्फत न्यून कार्बनयुक्त अर्थतन्त्र एवम् एकीकृत जलविद्युत् विकास गर्नुपर्नेमा जोड दिएको छ । आइएचएको वर्ष २०२३–२५ को अध्यक्षको नेतृत्व अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुलले गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button