तपाईँ सुन्दै हुनुहुन्छः

बाँझो जमिनमा व्यावसायिक फूल खेती

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका नौ बागडोरमा बाँझो जमिनमा व्यावसायिक फूल खेती गरिएको छ ।

वडा प्रवर्द्धन प्रतिष्ठान कार्यक्रम अन्तरगत यहाँ व्यावसायिक रुपमा सामूहिक सयपत्री फूल खेती गरिएको हो । तिहार पर्वलाई लक्षित गरि गरिएको फूल खेतीमा यतिबेला ढकमक्क फूल फुलेर तयार भएका छन् ।

कावासोती पशुपंक्षी कृषि फर्म मार्फत बाँझो जमिनमा तिन हजार पाँच सय सयपत्री फूलका बिरुवा रोपिएको थियो । अहिले तिहारसँगै विवाह, व्रतबन्ध पूजाआजा लगायतका कार्यका लागि पनि फूल ढकमक्क फुलेर तयारी अवस्थामा रहेको वडा प्रवर्द्धन प्रतिष्ठान कार्यक्रमका सचिव बाबुराम केसीले जानकारी दिनुभयो । १६ कठ्ठा जमिन भाडामा लिएर तिन कट्ठामा पहिलो पटक सयपत्री फूल खेती गरिएको उहाँले बताउनुभयो ।

वडा प्रवर्द्धन प्रतिष्ठान कार्यक्रमका अध्यक्ष विष्णुप्रसाद पोखरेलले पहिलो पटक व्यावसायिक रुपमा फूल खेती गरेको भए पनि यसबाट आम्दानी राम्रै हुने अपेक्षा गरिएको बताउनुभयो । फूल खेती गर्न ३० हजार लगानीमा लागेको उहाँले जानकारी दिनुभयो । ३५ सय फूलका बोटले करिब पाँच लाखको आम्दानी गर्ने अनुमान गरिएको उहाँ बताउनुहुन्छ । फूल खेतीबाट भएको आम्दानी खर्च कटाएर सामाजिक कार्यमा लगानी गर्ने वडा प्रवर्द्धन प्रतिष्ठान कार्यक्रमको लक्ष्य छ । प्रतिमाला एक सय ५० का दर बिक्री वितरण गरिने समेत उहाँले बताउनुभयो ।

यस्तै कावासोतीका दुई जना शिक्षक मिलेर १० कठ्ठा जमिनमा पहिलो पटक सयपत्री फूल खेती गर्नुभएको छ । कावासोती पाँचका सुरजकुमार भुजेल र कावासोती १६ का तेजमान सिर्पालीले शिक्षण पेसासँगै व्यावसायिक पुष्प खेती गर्नुभएको हो ।

परम्परागत रूपमा गर्दै आइरहेका विभिन्न नगदे बालीका अलावा आधुनिक र व्यावसायिक रुपमा कृषिलाई रूपान्तरण गर्नका लागि फूल खेतीको सुरुवात गरिएको उहाँहरू बताउनुहुन्छ ।

नेपालीहरूको पर्व तिहारमा सयपत्री फूलको माग अत्यधिक हुने गर्दछ । स्वदेशी उत्पादनले धान्न नसकेर हरेक वर्ष छिमेकी देश भारतबाट लाखौँ रुपैयाँको फूल र मालाको आयात हुने गरेको छ । यो अवस्थालाई रोकथाम गर्नका लागि जिल्ला र कावासोती क्षेत्रभित्रका स्थानीयलाई मध्यनजर गर्दै सयपत्री फूलको खेती गरिएको सिर्पालीले बताउनुभयो ।

नवलपुर जिल्लाका विभिन्न स्थानमा व्यक्तिगत, सामूहिक रुपमा युवाहरू मिलेर व्यावसायिक फूलखेती गरिरहेका छन् । यहाँ उत्पादन भएका फूल जिल्लाभित्रै पूर्ण रुपमा खपत हुने हुँदा यहाँका युवाहरू फूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button