पर्वतको जलजलामा ‘एक घर एक धारा’
पर्वत-पर्वतको जलजला गाउँपालिकामा पर्वत बेनी खानेपानी आयोजनाले घरघरमा मिटर धारा जडान गर्न शुरु गरेको छ । ‘एक घर एक धारा’ जडान कार्यक्रम अन्तर्गत जलजला गाउँपालिका २, ३ र ४ का ९ सय ७४ घरधुरीमा धारा जडान शुरु भएको हो । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका गाउँमा घरघरमा धारा जडान हुन लागेको स्थानीय खुशी छन् ।
यहि माघ मसान्त भित्र खानेपानी उपलब्ध गराउने गरि घरघरमा मिटर सहितको धारा जडान गर्न शुरु भएको पर्वत वेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।
आयोजनाको सम्पूर्ण परिक्षण सफल भएपछि यसै सातादेखि उपभोक्ताको घरमा धारा जडान शुरु भएको रेग्मीले बताउनुभयो । कुल १२ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएको आयोजनामा नगर बिकास कोषबाट २ करोड ६२ लाख रुपैयाँ लगानी गरिएको छ ।
कालीगण्डकी किनारको जुगेधारामा प्रतिसेकेन्ड १२ लिटर पानी तान्ने क्षमताको समसिवल वयल पम्म जडान गरिएको छ भने जुगेधाराको पानी १५० मिटर उचाईमा रहेको ट्याङकीमा विद्युतीय उपकरण प्रयोग गरि तानेर भण्डारण गरिने भएको छ ।
यो आयोजना साविकको धौलागिरी अञ्चलकै ठुलो आयोजना हो । खानेपानी आयोजना डेढ वर्ष अघिबाट निर्माण थालिएको थियो । समयमै काम सम्पन्न भएर खानेपानीको सुविधा पाउन थालेकोमा स्थानीय खुशी भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । जलजला गाउँपालिकाका ६ वटै वडामा खानेपानीको समस्या छ ।
तर, स्रोतको अभावमा सबै ठाउँमा पानीको सुविधा पु¥याउन नसकिएको अध्यक्ष मल्लले बताउनुभयो । सानातिना योजनाले नभ्याउने भएकाले प्रदेश र संघीय सरकार संग खानेपानीका ठूला आयोजनाका लागि बजेट माग गरेको मल्लले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्