तपाईँ सुन्दै हुनुहुन्छः

सेभ द चिल्ड्रेनले मधेश प्रदेशको बालबालिकाको समग्र अवस्थामा सुधार गर्दै

जनकपुरधाम । मधेश प्रदेशका २१ वटा पालिकामा विभिन्न स्थानीय गैरसरकारी संस्थाहरूको सहकार्यमा सेभ द चिल्ड्रेनले काम गरेपछि बालबालिकाको समग्र अवस्थामा सुधार हुन थालेको छ । 

सेभ द चिल्ड्रेन मधेश प्रदेशको फिल्ड कार्यालय बर्दिबासले आज जनकपुरधाममा मधेश प्रदेशका पत्रकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशको मानव सूचकाङ्कको दृष्टिकोणले कमजोर रहेको सप्तरी जिल्लाका ६, महोत्तरीको ७, सर्लाहीको ४, बाराको ३ र धनुषाको १ वटा पालिकामा काम गरिरहेको जानकारी दिइएको छ । 

सेभ द चिल्ड्रेनको कार्यक्रम बालबालिकाको बाँच्न पाउने अधिकार, पढ्न पाउने अधिकार तथा बालबालिकाको संरक्षणको अधिकारमा केन्द्रित भएर  काम गरिरहेको फिल्ड कार्यालयका प्रमुख घन भुसालले जानकारी दिनु भएको छ ।

सेभ द चिल्ड्रेनले मानव सूचकाङ्कले पछाडि परेको मधेश प्रदेश तथा कर्णाली प्रदेशलाई उच्च प्राथमिकतामा राखेर संघ, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको प्रदेश प्रमुख भुसालले जानकारी दिनु भयो । सन् २०२२ मा मधेश प्रदेशका २१ पालिकाका १ लाख ९८ हजार ३ सय ९० बालबालिकाले प्रत्यक्ष रुपमा लाभान्वित भएको जानकारी दिइएको थियो । 

शिक्षा, बाल सुरक्षा, बालअधिकार मैत्री सरकार, स्वास्थ्य र पोषण, वाल गरिबी न्यूनीकरण र क्रस कटिङ्गको क्षेत्रमा सेभ द चिल्ड्रेनले स्थानीय तथा प्रदेश सरकारलाई सघाउने काम गरिरहेको जानकारी दिइएको छ । संस्थाले स्थानीय गैरसरकारी संस्थाहरू मार्फत मधेश प्रदेशका ४ सय ४० प्री–प्राइमरी तथा आधारभूत विद्यालय, ४ सय ७२ वाल क्लब सहित विभिन्न माध्यमले बालबालिकाको समग्र अवस्थामा सुधार ल्याउन काम गरिरहेको सेभ द चिल्ड्रेनका वरिष्ठ फिल्ड अफिसर उमेश कुमार गुप्ताले जानकारी दिनु भयो । 

सो अन्तरक्रिया कार्यक्रममा सहभागी भएका पत्रकारहरूले सेभ द चिल्ड्रेनलाई बालबालिकाका विभिन्न विषयहरूमा थप कामकाज गर्नु पर्ने सुझाव दिनु भएको थियो । सेभ द चिल्ड्रेनले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुरक्षाका विषयमा गरेको सकारात्मक कार्यक्रमहरूको विषयमा कलम चलाउन तयार भएको सहभागी भएका पत्रकारहरूले प्रतिबद्धता प्रकट गर्नु भएको छ । अन्तरक्रियामा धनुषा तथा महोत्तरीका पत्रकारहरू सहभागी भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button